जेनजी आन्दोलनमा ‘जेल ब्रेक’पछि नेपालीलाई भिसामा कडाई

Yangle News
Yangle News
२०८२ अशोज ६ गते
जेनजी आन्दोलनमा ‘जेल ब्रेक’पछि नेपालीलाई भिसामा कडाई

जेनजी आन्दोलनका समयमा कारागारबाट हजारौं कैदीबन्दी फरार भएपछि विभिन्न देशहरुले नेपालीलाई भिसामा कडाई गरेका छन् । केही देशले नेपालीका लागि भिसा नै बन्द गरेको छ ।

पछिल्लोसमय दक्षिण कोरिया, संयुक्त अरब इमिरेट् (युएई) कतार, मलेसिया लगायतका देशले नेपालीका लागि दिने भिसामाथि कडाई गरेका हुन् । अरु केही देशहरुले पनि औपचारिक सूचना सार्वजनिक नगरे भिसा प्रकृयामा थप कडाई गरिरहेको परराष्ट मन्त्रालयका एक अधिकारीले बताए ।

ती देशहरुले भिसा प्रकृयामा कडाई गरेसँगै नेपाली कामदारहरुको साथै अन्य अत्यावश्यक कामको लागि जानु पर्ने व्यक्तिहरु समेत समस्यामा पर्न थालेका छन् । वेस्ट इन्डिजसँग युनिटी कप खेल्न यूएई जान लागेका नेपाली खेलाडीको भिसासमेत रोकिएको थियो । नियमित प्रक्रियाबाट भिसा नपाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले यूएई क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)लाई अनुरोध गरेको थियो । आइसीसीको अनुरोधपछि बल्ल युएईले भिसा उपलब्ध गराएको छ ।

युएईको लागि हरेक महिना नेपालबाट २०-२५ हजार नेपाली रोजगारीका लागि यूएई जाने गरेका छन् । त्यहाँ करिब ८ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।

दक्षिण कोरियाले पनि नेपालीको लागि जारी गर्दै आएको ई-७ भिसा स्थगित गरेको घोषणा गरेको छ । कोरियाले ई-९ र ई-७ गरी दुई वटा भिसा प्रणालीबाट विदेशबाट कामदार लैजाने गरेको छ । ई-९ भिसा सामान्य कामदारका लागि र ई-७ भिसा प्रणाली दक्ष कामदारका लागि दिइने गरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार व्यक्तिगत रूपमा ई-७ भिसामा सीपयुक्त जनशक्तिको रूपमा नेपालबाट ‘सेफरकुक’को काममा नेपाली गइरहेका छन् । यो क्षेत्रमा जाने नेपालीको न्यूनतम तलब १७ लाख हजार वन (करिब १ लाख ४८ हजार रुपैयाँ) तोकिएको छ ।

तर, पछिल्लो निर्णयले अब नेपालीहरु त्यो भिसामा जान नपाउने भएका छन् । मलेसिया सहितका देशहरुले पनि नेपालीलाई भिसा दिन कडाई गरिरहेका छन् ।

जेनजी आन्दोलनको क्रममा देशभरका जेलहरु फोडेर गम्भिर अपराधमा मुछिएका अपराधीहरु पनि भागेको र उनीहरु आफ्नो देशमा पस्न सक्ने आशंकामा ती देशहरुले भिसामा कडाई गरेको बताइएको छ । देशभरका २७ वटा जेलबाट करिब १६ हजार कैदीबन्दी भागेका थिए । हालसम्म करिब ७ हजार पक्राउ परेका छन् भने बाँकी अझै फरार छन् । तीमध्ये जघन्य अपराधमा मुछिएकाहरुको संख्या पनि सयौं रहेको बताइएको छ । केही पुनः अपराधमा संलग्न भएका छन् ।

ती अपराधीहरु भागेर विदेश जानसक्ने आशंकामा नेपाल प्रहरीले सीमा नाका र विमानस्थलहरुमा कडाई गरिरहेको छ ।