संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पूर्वमा रहेका धार्मिक स्थलहरू र सप्तकोशी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको हब बनाउन सकिने बताएका छन् । धरान एक्स्पो २०७९ को समापन समारोहमा बोल्दै मन्त्री किराँतीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले पर्यटकीय हबको रूपमा विकास गरी त्यसलाई पूर्वी भेगका स्थानीय उत्पादनको बजारीकरणको केन्द्र पनि बनाउन सकिने बताए ।
स्थनीय उत्पादनको रैथाने स्वाद, संस्कार संस्कृतिलाई समेटेर नेपाली मोडलको पर्यटन विकास गर्नुपर्ने उनको भनाई थियो । उनले नेपाली स्रोत साधनलाई सामूहिक रूपमा सञ्चालन गर्दै प्रविधि मैत्री किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वमन्त्री मीन विश्वकर्माले धरानमा गरिएको लगानी पलायनतर्फ गम्भीर हुन आग्रह गरे । उनले स्थानीय उत्पादनको ब्राण्डिङमा लाग्न पनि उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले धरान क्षेत्रको विकासको लागि एकिकृत अवधारणा आवश्यक रहको बताए । उनले हिल स्टेशनको अवधारणा अनुरुप पूर्वाधार विकास गर्न सके छिमेकी मुलुकबाट थ्रुप्रै पर्यटक नेपाल भित्र्याउन सकिने समेत बताएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उत्पादनमूखी व्यापार व्यवसायमा लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम आवश्यक रहेको बताए ।
फागुन ११ गतेदेखि शुरु एक्पोमा पर्यटनसंग सम्बनिधत १५ सहित विभिन्न १३० वटा स्टरल रहेका थिए । एक्स्पो, नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको हो ।