शैक्षिक सत्रअगावै देशभरका विद्यालयमा पाठ्यपुस्तक

Yangle News
Yangle News
२०८१ चैत्र २८ गते
शैक्षिक सत्रअगावै देशभरका विद्यालयमा पाठ्यपुस्तक

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ ।

केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्ने एक करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक (अङ्ग्रेजीमा अनुवादितसमेत) केन्द्रीय कार्यालय र मातहतका प्रादेशिक कार्यालयहरूबाट तालिकाबद्ध रूपमा बिक्रीवितरणको व्यवस्था गरिएको जानकारी दिए ।

यही चैत १२ गतेदेखि बिक्रीवितरण खुला गरी देशका ७७ वटै जिल्लाका सूचीकृत बिक्रेताहरूमार्फत शैक्षिक सत्र सुरु हुनुअगावै सम्बन्धित विद्यालयहरूमा पुर्‍याउन पहल भएको उनले बताए । उनले विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीले प्राप्त नगरेको गुनासो आएमा तुरुन्त केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्न आग्रह गरे ।

हालसम्म देशभरका नौ वटा कार्यालयबाट ६४ लाख ७६ हजार ८५० थान पुस्तक बिक्रिवितरण गरिसकिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार केन्द्रीय कार्यालयबाट १२ लाख तीन हजार १३४, कोशी प्रदेश कार्यालय विराटनगरबाट सात लाख ३८ हजार ६८१, मधेसको जनकपुरबाट चार लाख ९४ हजार १४२, बागमतीको भरतपुरबाट छ लाख २६ हजार ४३८, गण्डकीको पोखराबाट पाँच लाख ३२ हजार ३२४, लुम्बिनीको बुटवलबाट नौ लाख नौ हजार ६५८, कर्णालीको सुर्खेतबाट तीन लाख ६५ हजार ८०४, सुदूरपश्चिमको धनगढीबाट सात लाख ५० हजार १७ र प्रादेशिक प्रेस नेपालगञ्जबाट आठ लाख ५६ हजार ६५२ थान पुस्तक बिक्रीवितरण भइसकेका छन् ।

गत सोमबारसम्म उक्त परिमाणमा पुस्तक बिक्रीवितरण भएका र केन्द्र मातहतका कार्यालयमा बाँकी एक करोड पाँच लाख ७३ हजारभन्दा बढी थान पुस्तक मौज्दात रहेकाले सूचीकृत बिक्रेताहरूलाई समयमै सम्पर्कका लागि अनुरोध गरिएको छ । साथै कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि विद्यार्थी सङ्ख्याका आधारमा छपाइ भइरहेकाले समयमै उपलब्ध गराइने प्रबन्धक निर्देशक पौडेलले जानकारी दिए।

‘केन्द्रले कक्षा १, २ र ४ बाहेकका पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको थियो । विद्यालय तहको प्राप्त जिम्मेवारी समयमै पूरा गर्नेगरी काम भएको छ । बाँकी पुस्तक पनि चाँडै बिक्रीवितरणका लागि हामी खटिरहेका छौं,’ उनले भने ।

केही वर्षअघिसम्म देशभरका विद्यालयमा शैक्षिकसत्र सकिने बेलासम्म विद्यार्थीले पुस्तक पाउन नसकेको गुनासो आउने गरेका थिए । सरकारले केही वर्षयता जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक छाप्ने जिम्मा दिएपछि समस्या समाधान हुन थालेको छ ।

सरकारले कक्षा एक, दुई र चारको पाठ्यपुस्तक छपाइको जिम्मा भने निजी क्षेत्रलाई नै दिने गरेको छ ।