पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत १४ लाख ३० हजार किशोरीले खोप लगाएका छन् । गत माघ २२ गतेदेखि सरकारले सुरु गरेको अभियान अन्तर्गत फागुन ६ गतेभित्र १४ लाख ३० हजार किशोरीले खोप लगाएका हुन् ।
दुई सातको चलेको अभियानमा सरकारले १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखेकोमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका हुन् । कारणवश खोप लगाउन छुटेका र लगाउन खोज्नेलाई खोप लगाइदिने स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले बताउनुभयो ।
कतिपय स्थानमा खोप लगाए पनि तथ्याङ्क नआएको डा गौतमले बताउनुभयो । वहाँले हिमाली क्षेत्रहरु हुम्ला, डोल्पा, मनाङ र मुस्ताङमा हिउँ परेका कारण सो क्षेत्रमा खोप लगाउन नसकिएकाले फागुनको अन्त्यसम्म खोप लगाइने बताउनुभयो ।
अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ ।