शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई तत्काल कार्यान्वयन गर्न ४ वटा निर्देशन दिएका छन् । उनले आज सीटीईभीटीलाई विभिन्न ४ निर्देशन दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।
उनले पहिलो नम्बरमा मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेश गर्न निर्देशन दिएका छन् । त्यस्तै, एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था मिलाउन मन्त्री पुनको निर्देशन छ ।
यसैगरी उनले सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरूको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण र सम्बोधन गर्ने शाखा तुरुन्त बनाई सञ्चालनमा ल्याउन र २०६९ सालदेखि अहिलेसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरू छानबिन गरी असोज मसान्तभित्र रिपोर्ट पेश गर्ने तथा सम्बन्धन दिने/नदिने निर्णय तुरुन्त गर्न समेत निर्देशन दिएका छन् ।
यसअघि उनले त्रिभुवन विश्वविद्यालयलाई तीन महिनाभित्र विद्यार्थीले दिएको परीक्षाको नतिजा प्रकाशन नगरे अनुदान रोक्ने चेतावनी दिएका थिए ।