नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबीच एकता भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गरिएको हो ।
कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू सहभागी थिए । एकीकृत समाजवादीका नेताहरूले नेता गौतमलाई खादा लगाइदिँदै अँगालो हालेका थिए । कार्यक्रममा दुवै पक्षका नेता-कार्यकर्ताहरूको उपस्थिति थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गरेका थिए ।
२०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो । एकता हुन लागेको उक्त पार्टीको पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ ।
कार्यक्रममा नेता गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गरेका छन् । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी)बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गरे । एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी) मा आएको उल्लेख गरे । नेपालमा कम्युनिस्ट पार्टी एउटै निर्माण गर्नुपर्ने उनको भनाइ छ । ‘आज म एक्लै आएको छैन । एक्लै आउँदा कहिल्यै पनि सफल भइन । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियान बोकेर आएको छु । धेरै कमरेडहरूलाई सँगै ल्याएको छु । नेपालमा कम्युनिस्ट पार्टी एउटै निर्माण गर्नुपर्छ । छरिएर रहेका कम्युनिस्ट पार्टीलाई एकतावद्ध गर्नुपर्छ,’ उनले भने ।
अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिलेको विन्दुमा उभिएर भन्दा नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहीँभित्रको अवस्था देखिरहेका छौँ । त्यसप्रति लसपस कसैको छ भने, आशा अपेक्षा छ भने मेरो भन्नु केही पनि छैन,’ उनले भने ।
उनले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ की भनेर भ्रम नपाल्न आग्रह गरे । कम्युनिस्टहरू बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको उल्लेख गरे । ‘कम्युनिस्टहरू बिग्रिएपछि धेरै गन्हाउने, गन्हाएपछि साह्रै खत्तम हुँदो रहेछ । त्यस्तो नहोस् । हामी चाहन्छौँ । सबै सुध्रिउन् । हामी चाहन्छौँ, सबै सही बाटोमा अघि बढौँ । विगतमा आफूबाट कमजोरी भएका छन् भने सच्याउन्, पुनरवलोकन गरुन् । कमी, कमजोरी स्वीकार गर्ने आँट गरुन्,’ उनले भने ।
उनले बिग्रिएकाहरूले आफूले गरेको गल्तीको महसुस गरेर सच्चिन र सुध्रिन जरुरी रहेको बताए । आफूहरू कसैप्रति आग्रह पालेर नबस्ने पनि स्पष्ट पारे । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई सिध्याउन नेकपा एमालेले प्रयत्न गरिरहेको आरोप लगाए । पार्टीलाई बलियो बनाउन नेपाल राष्ट्रिय एकता अभियानसँगको एकताको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ छ ।