‘मोन्था’को प्रभावले कहाँ-कहाँ भइरहेको छ वर्षा ?

Yangle News
Yangle News
२०८२ कार्तिक १४ गते
‘मोन्था’को प्रभावले कहाँ-कहाँ भइरहेको छ वर्षा ?

हाल देशभर साधारणतयादेखि अधिकांश बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मोरङ र सप्तरीसहित पूर्वका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा एक सय ९१ मिलिमिटर र सप्तरीमा एक सय ३० मिलिमिटर पानी परेको छ । झापा र उदयपुरमा पनि ठूलो पानी परेको महाशाखाले उल्लेख गरेको छ ।

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम आजसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने महाशाखाको पूर्वानुमान छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात साथै कोशी र मधेश प्रदेश थोरै स्थानहरुमा, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा पूर्ण बदली रही तराई भू-भागमा साधारणतया बदली रहने छ । कोशी र मधेश प्रदेश अधिकांश स्थानहरूमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात साथै कोशी र मधेश प्रदेश थोरै स्थानहरुमा, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती प्रदेशमा पूर्ण बदली, बाँकी भू-भागमा साधारणतया बदली रहने छ । कोशी र मधेश प्रदेश प्रदेशका धेरै स्थानहरूमा, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा आज बिहान जारी बुलेटिनमा जनाइएको छ ।