गभर्नर नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । योग्यता नपुगेका व्यक्तिलाई सरकारले गभर्नरमा नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट निवेदन परेको हो ।
सरकारले ६ जेठमा नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो । तर, सरकारको उक्त निर्णयविरुद्ध शुक्रबार अधिवक्तात्रय अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रतीले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।
उनीहरूले अयोग्य व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् । पौडेल नेपाली कांग्रेसको महासमिति सदस्य तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजित उम्मेदवार रहेको र गभर्नर सिफारिस समितिका पदाधिकारी भई राजीनामा गरेको रिट निवेदनमा उल्लेख छ ।
राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रूपमा गभर्नरमा नियुक्त गरिएको रिटकर्ताको दाबी छ । रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।