ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

Yangle News
Yangle News
२०८२ जेष्ठ २३ गते
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

ग्लोबल आइएमई बैंकले विश्व वातावरण दिवसको अवसरमा  देशका विभिन्न स्थानमा वृहत् वृक्षारोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरूमा वृक्षारोपण कार्यक्रम गरेको हो ।

बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीको लम्कीचुहा नगरपालिकाको बालचौरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा एक हजार कागतीका बिरुवा रोपण गरेको छ । कार्यक्रममा जनप्रतिनिधिहरू, स्थानीय नागरिक लगायत बैंकका कर्मचारीहरूको ठुलो उपस्थिति रहेको थियो ।

त्यसैगरी, बैंकले काठमाडौंको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३ सय वटा विरुवा रोपण गरेको छ । बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगति सामुदायिक वन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानमा ३ हजार ७ सय वटा, मधेस प्रदेशको राजविराज, जीतपुर, लहान, गौर, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक वन) लगायतका विभिन्न स्थानमा  ५ हजार ५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानमा २ हजार ३ सय, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानमा २ हजार एक सय, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ लगायतका विभिन्न स्थानमा १ हजार ५ सय, कर्णाली प्रदेशको विरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानमा ७ सय र सुदूरपश्चिमको बालिया, गोकुलेश्वर, बैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरूमा २ हजार ८६ बिरुवा रोपण सुरु गरेको छ ।

बैंकले वृक्षारोपण कार्यक्रममा स्थानीयहरूको उत्साहजनक उपस्थिति रहेको जनाएको छ । बैंकले वृक्षारोपणको लागि विभिन्न संस्थासँग सहकार्य गरी सहरको सौन्दर्यीकरण, सामुदायिक वन, विद्यालय, अस्पताल परिसरहरू तथा सार्वजनिक स्थानहरू छनौट गरेको छ ।