३६ वर्षपछि अर्जेन्टिना विश्वविजेता

Yangle News
Yangle News
२०७९ पुस ४ गते
३६ वर्षपछि अर्जेन्टिना विश्वविजेता

कतारको लुसेल रंगशालामा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना अर्जेन्टिनाले ३६ वर्षपछि पुन :  उपाधि जितेको हो।

यो सँगै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको छ । अर्जेन्टिना यसअघि सन् १९७८ र सन् १९८६ मा विश्व च्याम्पियन बनेको थियो।

अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । मेस्सीले अतिरिक्त समयमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल पुन बराबर गरे ।

पेनाल्टी सुटआउटमा किलीयन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोलमा परिणत गरे । किंग्सले कोमानले गरेको फ्रान्सको दोस्रो प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । लगत्तै पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

फ्रान्सका औरेलिएन चुआमेनीले बाहिर प्रहार गरेपछि अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बढाए । फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।

329 views