सहकारी सञ्चालनमा चरम लापरबाही भएको निष्कर्ष, नियमनमा कडाई गर्न जाँचबुझ आयोगको सिफारिस

Yangle News
Yangle News
२०८३ जेष्ठ १४ गते
सहकारी सञ्चालनमा चरम लापरबाही भएको निष्कर्ष, नियमनमा कडाई गर्न जाँचबुझ आयोगको सिफारिस

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एकभन्दा धेरै शाखा सञ्चालनमा रहेका सहकारीलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको हो ।

प्रतिवेदनले अहिलेको बेथिति व्यवस्थापन भएपछि सम्भाव्यता अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई दर्ता गर्ने अधिकार सुम्पने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ । स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढीमा एउटा पालिकामात्र हुनुपर्ने उल्लेख छ ।

नियामक निकायका पदाधिकारी तथा अभियानकर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरुपयोगमा सहयोग पुर्‍याएकाले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिइएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारी ऐन २०७४ को भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारीबारे अनुसन्धान गरी कारबाही गर्न पनि आयोगले सिफारिश गरेको छ ।

मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढाइएको जनाएको छ ।