प्रि-मनसुनमै उग्र गर्मी र बाढीपहिरो, आगामी मनसुनमा खडेरीको सम्भावना

Yangle News
Yangle News
२०८३ जेष्ठ ११ गते
प्रि-मनसुनमै उग्र गर्मी र बाढीपहिरो, आगामी मनसुनमा खडेरीको सम्भावना

प्रि-मनसुनको समयमा पूर्वमा बाढी, पहिरो आइरहँदा पश्चिममा भने तातोलहर चलिरहेको छ । जल तथा मौसम विज्ञान विभागले विषेश गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातोलहर चल्ने देखिएको जानकारी दिएको छ । तर कोशी, बागमती, गण्डकी प्रदेशका विभिन्न स्थान तथा मधेस प्रदेशमा पनि मेघगर्जन, चट्याङ सहितको वर्षा तथा आंशिक बादल लाग्ने विभागले जनाएको छ ।

प्रि-मनसुनको अवधि चलिरहेको समयमा कतै बाढी, पहिरो कतै तातोलहर चल्नु स्वाभाविक हो त ? त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल भन्छन्, ‘यसलाई सामान्य रूपमा मात्रै हेर्नु हुँदैन । मनसुन सुरु हुनुभन्दा पहिला वर्षामा ब्रेक लाग्नेजस्तो पनि देखिँदैन । मौसमी प्याटर्न सामान्य देखिँदैन ।’

सोमबारदेखि फेरि केही स्थानमा भारी वर्षा हुँदैछ । तर, हालको मौसमी अवस्थालाई छुट्टै अध्ययन चाहिने भएकाले ठ्याक्कै केही भन्न नमिल्ने पोखरेलले बताए । पोखरेलका अनुसार यस वर्षको प्रि-मनसुनमा लगातार वर्षा भयो । लगातार वर्षा भएपछि काठमाडौंमा चिसो महसुस भएको थियो ।

प्रि-मनसुन (मार्च, अप्रिल, मे) मा समेत चिसो अनुभव गरेकाहरूका लागि आगामी दिन भने सजिलो नहुने विभागले अनुमान छ । पोखरेलले पनि पश्चिम नेपाल सबैभन्दा धेरै खडेरी र गर्मीको सिकार हुने बताए । तराईमा ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने अनुमान उनले पहिला नै गरेका थिए ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्, डेभिड ढकाल पूर्वी क्षेत्रमा न्यूनचापीय प्रणालीका कारण वर्षा भइरहेको बताउँछन् । पूर्वभेगमा न्यूनचापीय प्रणालीको प्रभाव लगातार परिरहेकाले यस्तो परिणाम आएको बताए । ढकालका अनुसार प्रि-मनसुनको अवधीमा छोटो समयमा धेरै पानी खण्डखण्ड भएर पानी पर्ने हुन्छ । विगतमा पनि प्रि-मनसुनको अवधीमा वर्षासँग बाढीपहिरो आएको घटना भए पनि यो वर्ष लगातार वर्षा भएको उनले बताए ।

मनसुन सुरु हुन केही करिब दुई साताको अवधि बाँकी रहेको छ । नेपालको आधिकारिक मनसुन भित्रिने मिति जुन १३ लाई मान्दै आएको । छ तर गत वर्ष निश्चित अवधिभन्दा पहिला अर्थात मे २९ मा नै मनसुन भित्रिएको थियो ।

यस वर्ष प्रि-मनसुनको अवधिमा लगातार वर्षा भए पनि आगामी मनसुनमा भने खडेरी पर्न सक्ने सम्भावना रहेको विभागले जानकारी गराइसकेको छ । विभिन्न खालका अध्ययन तथा वैज्ञानिकहरूले पनि यस वर्ष पूरै एसिया खडेरीको मारमा पर्ने भन्दै सचेत गराइसकेको छ ।

अत्यधिक गर्मी बढेसँगै पश्चिम तराईका जिल्लाहरुमा विद्यालयको पठनपाठन प्रभावित भएको छ । गर्मी अत्यधिक बढेपछि कतिपय क्षेत्रमा विद्यालयमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन गर्न समस्या भएकाले केही समयका लागि पढाइ बन्द गर्नुपर्ने अवस्था आएको पालिकाहरुले जनाएका छन् ।

विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही पालिकाले गर्मी बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिने गर्ने निर्णय गरेका हुन् । गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षाकोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताएका छन् ।

विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सिसम्म ३ दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ । विद्यार्थीको स्वास्थ्यमा असर पर्नसक्ने भएकाले बिदा दिने निर्णय गरिएको छ । उनका अनुसार यो बिदा गर्मी बिदाबाट कट्टा हुनेछ ।

त्यसैगरी कृष्णपुर नगरपालिकाले पनि आजदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ । शुक्लाफाँटा नगरपालिकाले पनि गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल गरेर बिदा दिने विषयमा निर्णय गरिने जनाएको छ ।