एन्फामाथिको निलम्बन फिर्ता लिन फिफा र एएफसीको आग्रह

Yangle News
Yangle News
२०८३ बैशाख १० गते
एन्फामाथिको निलम्बन फिर्ता लिन फिफा र एएफसीको आग्रह

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एशियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् ।

फिफाका चिफ मेम्बर एसोसिएशन अफिसर एलखान ममादोभ र एएफसीका डेपुटी जनरल सेक्रेटरी भाहिद कर्दानीले राखेपलाई संयुक्त रूपमा पत्र लेख्दै यही वैशाख २१ गतेभित्र एन्फामाथिको निलम्बन फिर्ता लिन आग्रह गरेका हुन् । राखेपको निर्णयले एन्फाको स्वायत्ततामा हस्तक्षेप हुने फिफा र एएफसीको भनाइ छ ।

यसअघि स्वीकृतिविना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत १२ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फा नेतृत्वले चैत १३ गतेका लागि तय भएको चुनाव स्थगित गरेको थियो ।

यसैबीच एन्फा र राखेपबीच नेपाली फुटबलमा देखिएको पछिल्लो संकट समाधानका लागि औपचारिक वार्ता शुरू भएको छ । आज एन्फाका महासचिव किरण राईले राखेपका पदाधिकारीलाई भेटेर फिफाले पठाएको पछिल्लो पत्र हस्तान्तरण गर्नुभएको हो । राखेप, फिफा, एएफसी र एन्फाबीच यसअघि भएको भर्चुअल छलफलपछि फिफाले यो नयाँ पत्र पठाएको हो ।

विवादकै बीचमा एन्फाले आउँदो सोमवार वैशाख १४ गतेदेखि  महिला खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

फिफा र एएफसीको पत्र :

Yangle News