राजेन्द्र गौतमले योगमाया विश्‍वविद्यालय संखुवासभामा ल्याउनै नदिन झेल गरे

Yangle News
Yangle News
२०७९ कार्तिक ८ गते
राजेन्द्र गौतमले योगमाया विश्‍वविद्यालय संखुवासभामा ल्याउनै नदिन झेल गरे

‘संखुवासभाका निवर्तमान सांसद राजेन्द्र गौतमले योगमाया विश्‍वविद्यालय जिल्लामा ल्याउनै नदिन झेल गरे, केपी ओलीले किमाथांका सडक चुट्कीको भरमा तयार हुने बताउँदै झुट बोले’

काठमाडौं- संखुवासभामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार दीपक खड्काले निवर्तमान एमाले सांसद राजेन्द्र गौतमले योगमाया आयुर्वेद विश्‍वविद्यालय संखुवासभामा ल्याउनै नदिन अनेक तिकडम गरेको खुलासा गरेका छन्।

जिल्लाको उत्तरी मकालु गाउँपालिकाको केन्द्र नुममा आयोजित गठबन्धन दलहरूको भेलामा खड्काले उक्त खुलासा गरेका हुन्। ‘हामी योगमाया विश्‍वविद्यालय संखुवासभामै बन्नुपर्छ भनेर लागिप¥यौं, उहाँ (राजेन्द्र गौतम)ले आउन नदिन कम्मर कसेर लाग्नुभयो। अन्ततः उहाँको प्रयास सफल भएन,’ खड्काले भने।

उल्टै निवर्तमान सांसद तथा एमालेबाट संखुवासभामै प्रतिनिधिसभाका उम्मेदवार गौतमले आफ्ना १५ उपलब्धी भनेर ‘योगमाया आयुर्वेद विश्‍वविद्यालयको नीति निर्माण गरी त्यसको केन्द्रीय सम्पर्क कार्यालय तुम्लिङटारमा खोलिएको’ दाबी गरेका छन्।

यसअघि मादी नगरपालिकाको केन्द्र मादीमा आयोजित गठबन्धन दलहरूको भेलामा माओवादी नेता तथा योगमाया विश्‍वविद्यालय स्थापनाका लागि अभियान चलाएका भविन्द्र अधिकारीले पनि निवर्तमान सांसद गौतमले विश्‍वविद्यालय संखुवासभामा ल्याउने अभियान सञ्चालन नगर्न धम्की दिएको र सदरमुकाम खाँदबारीमा आयोजित अभियानको कार्यक्रमस्थलमा सेनाको हेलिकोप्टर घुमाएर अवरोध सिर्जना गराएको आरोप लगाएका थिए।

नुममा आयोजित कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार तथा कांग्रेस जिल्ला सभापति खड्काले आफूहरू जिल्लाको विकासमा गौतमजस्तो पूर्वाग्रही र पक्षपाति नरहेको प्रष्ट्याए। ‘योगमाया विश्‍वविद्यालयको अध्यक्षमा एमालेकै नेता अर्जुन कार्कीलाई चयन गर्न सिफारिस गरेका छौं,’ खड्काले भने, ‘हामी सानो छाती गर्दैनौं। जिल्लाको विकासका लागि सबैलाई समेटेर अगाडि बढ्छौं।’

८१ वर्षअघि राणा शासन र सामाजिक कुरितीविरुद्ध विद्रोहको बिगुल फुक्दै संखुवासभा र भोजपुरको सीमामा अरुण नदीमा जल समाधी लिएकी थिइन्, भोजपुरकी योगमायाले। नेपाली समाजमा नारी विद्रोहकी प्रतीक हुन् उनी। सोही कारण संखुवासभाका बासिन्दाले योगमायाको नाममा स्थापना हुने विश्‍वविद्यालय संखुवासभामै बन्नुपर्ने अभियान चलाएका थिए।

माओवादी नेता अधिकारीका अनुसार सांसद गौतम उक्त विश्‍वविद्यालय सुनसरी, मोरङतिर स्थापना गराउन चाहन्थे। एमालेबाटै राज्यको उच्च ओहोदामा पुगेका एक व्यक्तित्वले उक्त विश्‍वविद्यालयलाई सुनसरीको बराहक्षेत्र नगरपालिकामा स्थापना गराउन जोडबल गरेका थिए।

नुममा आयोजित कार्यक्रममा अर्को प्रसंगमा कांग्रेस जिल्ला सभापति तथा प्रतिनिधिसभा उम्मेदवार खड्काले तत्कालीन केपी ओलीले किमाथांका सडक दुई वर्षभित्र तयार भइसक्ने भनेर ढाँटेको बताए। ‘किमाथांका सडक निर्माणका लागि हामी जिल्लावासी तत्कालीन प्रधानमन्त्री ओलीलाई भेट्न गयौं। उहाँले भन्नुभयो- ‘अब बिहान खाँदबारीबाट हिँड्ने, चीनको सिगात्सेमा गएर खाना खाने, साँझ खाँदबारी फर्केर बास बस्ने। चुट्कीका भरमा दुई वर्षमा बाटो बन्यो अब।’ तर, उहाँले हामीलाई झुटो बोलेर झुक्याउनुभयो। अहिलेसम्म किमाथांका सडकको ट्र्याक नै खुलेको छैन।’

त्यतिबेलै आफूहरूले किमाथांकासम्म ट्र्याक ओपनिङको जिम्मा नेपाली सेनालाई दिन आग्रह गरेको तर सडक विभागका तत्कालीन महानिर्देशकले ‘त्यसो भए देश नै सेनालाई दिउँ न’ भनेर व्यंग्य गरेको खड्काले स्मरण गरे।

दुई वर्षभित्र किमाथांका सडकको ट्र्याक खुलेर सँगसँगै कालोपत्रेलगायत स्तरोन्नतीको काम शुरु हुने उनले जानकारी दिए।

280 views