भारतमा सुरु साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ गोलले पराजित भएको हो । बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा आज भएको खेलमा कुवेतलाई जिताउन मोहम्मद अब्दुल्लाह, खालिद हाजिएह र शबईब अलखल्दीले गोल गरे । नेपालका लागि अन्जन विष्टले एक गोल फर्काए ।
२३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । कुवेतका लागि शबईब अलखल्दीले ४१औं मिनेटमा दोस्रो गोल गरे । अनन्त तामाङले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा मोहम्मद अब्दुल्लाहले ६५ औ मिनेटमा गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए । खेल अधिकांश समय कुवेतको नियन्त्रणमा थियो ।
जवाफमा नेपालका लागि अन्जन विष्टले ६७ औं मिनेटमा गोल गर्न सफल भए । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्याएका छन् । उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका थिए ।
साफ च्याम्पियनसिपमा समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार घरेलु टोली भारतसँग खेल्नेछ । यहि समूहमा पाकिस्तान पनि छ । फिफा वरियतामा कुवेत १४३ औ स्थानमा छ । नेपाल भने १७४ औ स्थानमा छ ।