ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक

Yangle News
Yangle News
२०८२ अशोज ११ गते
ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले बचत शुरुआत गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा ग्राहकले न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् । यस योजनामा आफ्नो लक्ष्य र लक्ष्य प्राप्तिका लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम ६ महिनादेखि अधिकतम २ वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।

ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति ब्याजदर प्राप्त गर्ने हो र त्यो लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् । यस योजनामा मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न शीर्षकमा समेत बचत शुरुआत गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

मासिक आवश्यक रकम सीधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैँले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ । साथै ग्राहकले आफूले इच्छाइएको रकमसमेत ‘गोल बेस्ड सेभिङ’ मा टप-अप गर्न सक्नेछन् । यो योजनामा राउन्डअप सेभिङको सुविधा पनि रहेको छ । राउन्डअप सेभिङ अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधासमेत पाउनेछन् ।

राउन्डअप सेभिङमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प रहेका छन् । राउन्डअप सुविधा ग्राहकले आफनो आवश्यकता अनुरूप सक्रिय तथा निष्क्रिय गर्न सक्नेछन् । साथै विकल्पहरू पनि आवश्यकता अनुरूप परिवर्तन गर्न सक्नेछन् ।

नियरेस्ट टु छनोट गर्दा कतिको नजिकको रकम छनोट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणका लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ ।

फ्ल्याट रकम विकल्पमा छनोट गर्दा हरेक कारोबारमा कति रकम निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । जस्तै १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनोट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १०० रुपैयाँ निर्धारित लक्ष्य योजना बचत हुनेछ ।

प्रतिशत विकल्प छनोट गर्दा हरेक क्यूआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम लक्ष्य योजनामा बचत हुनेछ । जस्तै १० प्रतिशत छनोट गरिएको छ भने २०० रुपैयाँको क्यूआर भुक्तानी गर्दा २० रुपैयाँ लक्ष्य योजनामा बचत हुन्छ । निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

यस योजनाअन्तर्गत बचत गर्नका लागि बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले ग्लोबल स्मार्ट प्लस एपमार्फत् सीधै बचत गर्न सक्नेछन् । साथै यो योजनामा आबद्ध भएका ग्राहकले निर्धारित समय अघि नै खाता बन्द गर्न सक्नेछन् । साथै यस योजनाको सम्पूर्ण प्रक्रिया आफैँले मोबाइल बैंकिङबाट सञ्चालन गर्न सकिनेछ ।

आफ्नो ‘गोल बेस्ड सेभिङ’को सम्पूर्ण कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लसमार्फत् हेर्न सक्ने सुविधासमेत रहेको छ ।