सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित यस गाउँमा ३० घरघुरीको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको सो बस्तीमा १२ घरधुरीले सामूहिक रुपमा होमस्टे (घरबास पर्यटन) सञ्चालन गरेका छन् ।
जिल्लाकै पहिलो होमस्टेका रुपमा स्थापित भद्रकाली सामुदायिक होमस्टेमा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय जैविक परिकारहरु, स्थानीयवासीको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लट्ठ बनाउने गर्दछ ।
पुर्वमा सेल्फी डाँडा, डाँडामाथिको बुट्टेदार पर्खालको कभर लगाएर एक पोज फोटो खिच्न मन लाग्छ । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर छ ।
पश्चिमतर्फ घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्यहरुले जो कोहीलाई पनि मोहित बनाउँछ । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले आकर्षणको केन्द्र बनेको छ ढुंग्रेभञ्ज्याङ ।
२०७६ साल चैत २९ बाट सुरु भएको होमस्टे कोभिड महामारीका कारण दुई वर्ष थलिएकामा अहिले पुनः पुरानै लयमा फर्किंदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापा मगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटकहरु चार दिनसम्म होमस्टेमा रमाएर जाने गरेको उनी बताउँछन् ।
होमस्टेमाथि रहेको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रमअनुरुप १७ घरधुरीका बासिन्दाले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादनहरु बिक्री गर्ने गरेका छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकारहरु यहाँ पाइन्छ ।
टाढाको यात्राबाट थाकेर आएका यात्रुहरु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिरहरु खिचेर, खिचाएर पुनः यात्रा तय गर्दछन् ।
पर्यटकहरु होमस्टेमा नै आएर बस्छन् । एक पटकमा ५० जनासम्म अटाउने क्षमता भएको यस होमस्टेको सेवा शुल्क महङ्गो छैन । अतिथि व्यवस्थापन खर्च २० रुपैयाँ, स्थानीय प्रजातिका कुखुरासहित खाना सेटको दुई सय ५० रुपैयाँ, प्रतिकोठाको पाँच सय (एउटा कोठामा दुईवटा पलङ) र बिहानको खाजा एक सयमा (अन्डा, पुरी, तरकारी, सेल, फुलाउरा) लिन सकिन्छ । पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ ।
होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारीक वातावरण दिएरले सहजता मात्रै थपिदिएको छैन । स्थानीयवासीलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरू व्यवसायमा भन्दा होमस्टेमा फाइदा र लगानी सुरक्षित देख्छिन्।
उनी भन्छिन्, राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घरघरमा पानी, बत्तीको सुविधा थपियो । ठाउँको विकास भएसँगै स्थानीयवासीमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थाल्यौँ ।
तीन वर्षअघि मात्रै सबै दृष्टिकोणबाट पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गर्ने निर्णयमा हामी पुग्यौँ । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको सहयोग मिल्यो।
चन्द्रकुमारी जर्गा मगरलाई आफ्नो होमस्टेमा अतिथि आउँदा अध्ययनका लागि काठमाडौँ गएको छोरो पढाइ सकेर घर फर्किएको जस्तो लाग्छ ।
‘अतिथिहरु हामीले खाने परिकारमा नै खुसी हुन्छन् । जुठेल्नोमा लगाएको सागसब्जी मीठो मानेर खान्छन् । उहाँहरुका लागि बजारबाट सामान किनेर ल्याउनु परेको छैन’, उनले भने, ‘पहिलोपटक अतिथि आउँदा उहाँलाई अत्यास लागेको थियो । श्रीमान्ले पत्याउनु भएको थिएन । नयाँ व्यक्तिसँग बोल्न डराउने मात्रै कहाँ होइन, होमस्टे सुरुवात गरेपछि पहिलो पटक अतिथि आउँदा थरथर कामेको उनलाई अहिले जस्तै लाग्छ । तर, अहिले उहाँमा धेरै परिर्वतन आएको छ ।
तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइ गर्नेदेखि अतिथि सत्कार, थरीथरीका परिकार बनाउन उनलाई सिकाएको छ । छ कट्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन उनी आफँले भ्याइरहेकी छिन् । यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु नपर्ने उनको भनाइ छ । यसले पाहुनाले पनि जैविक र ताजा खान पाउने र स्थानीयले पनि सजिलै राम्रो आम्दानी लिन सक्ने उनको धारणा छ ।
स्याङ्जाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टेलाई नेपाल सरकारले पर्यटन वर्ष मनाउनका लागि होटलहरुले मात्रै धान्दैन, गाउँगाउँमा होमस्टे खोल्नुपर्छ भनेर २०६७ सालदेखि संस्थागत दर्ता भएर सञ्चालन गर्न स्वीकृत गरेको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईंका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टेहरु संस्थागत दर्ता छन् ।
देशभर २२ हजार घरमा होमस्टे सञ्चालन भएको पाइन्छ । बागमती प्रदेशमा मात्रै एक सय २५ वटा होमस्टेहरु संस्थागत रुपमा दर्ता भएका छन् । यसमध्ये ७५ वटा होमस्टे सामुदायिक र अन्य निजी रुपमा चलेका छन् । राज्यको सम्बन्धित निकायमा कानुनी प्रक्रिया पूरा नगरी होमस्टे चलाउनेहरुको सङ्ख्या पनि धेरै रहेको छ ।