भावी प्रधानसेनापतिको रोलक्रममा रहेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
उपरथीबाट रथीमा बढुवा हुने क्रममा उनको जन्ममितिलाई लिएर विवाद बढेपछि उनले पदबाट राजीनामा दिएका हुन् । उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृतिको लागि रक्षा मन्त्रालयमा पठाइसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
उपरथी पाण्डेले शैक्षिक प्रमाणपत्रमा दुई वर्ष घटाएको पाइएको थियो । सुरुमा उनको जन्ममिति २०२१ माघ १२ गते उल्लेख गरिएको भए पनि पछि केरमेट गरी २०२३ मंसिर २३ गते बनाइएको थियो । उनको वास्तविक जन्ममिति अनुसार उनले एक वर्ष ९ महिनाअघि अवकाश पाइसकेको हुनुपर्ने थियो । तर, उनलाई जंगी अड्डाले रथीमा बढुवा गर्न खोजेपछि उनको जन्ममितिको विवाद बाहिर आएको थियो ।
विवाद बढेपछि रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति बनाइएको थियो । समितिले छानबिनका क्रममा उपरथी पाण्डेले जन्ममितिमा कैफियत भेटेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।