टी-२० विश्वकपमा नेपालको झिनो पराजय

Yangle News
Yangle News
२०८२ माघ २५ गते
टी-२० विश्वकपमा नेपालको झिनो पराजय

टी-२० विश्वकप २०२६ को पाँचौं खेल अर्थात् नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । इंग्ल्याण्डले दिएको १८५ रनको विजयी लक्ष्य पच्छाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । अन्तिम ओभरमा १० रनको आवश्यक हुँदा खेल रोमाञ्चक मोडमा गएको थियो । तर सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि नेपालले जित निकाल्न सकेन ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरे । तर चौथो ओभरमा आसिफ शेख आउट भए भने छैटौं ओभरमा कुशल भुर्तेल पनि आउट भए । भुर्तेलले १७ बलमा २९ रन बनाए । त्यस क्रममा उनले ४ चौका र १ छक्का प्रहार गरे ।

दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स अघि बढाए । उनीहरुले राम्रो साझेदारी गर्दै इंग्लयाण्डलाई दबामा राखेको थियो । तर ४४ रन बनाएर दीपेन्द्र आउट भए । उनले उनले एक छक्का र चार चौका प्रहार गरे । योसँगै उनले टी-२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा पनि गरे । दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् ।

यस्तै ३४ बल खेलेका कप्तान रोहितले दुई चौका र एक छक्काको मद्दतमा ३९ रन बनाएर । यस्तै लोकेश बम ३९ रनमा अवजित रहे । उनले दुई छक्का र चार चौका प्रहार गरे । आरिफ शेख बने १० रन बनाएर आउट भए । बलिङमा इंग्ल्याण्डका लागि लियम डसनले २ विकेट लिए । यस्तै लुक वुड, जोफ्रा आर्चर, विल ज्याक्स र साम करनले एक-एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको सुरुवात खराब रहेको थियो । दोस्रो ओभरमा फिल साल्ट आउट भए । त्यसबेला इंग्ल्याण्डको स्कोर केवल ५ रनमा मात्र थियो । त्यसपछि बटलरले राम्रो इनिङ खेले । तर उनी पनि पाँचौं ओभरमा आउट भए । बटलरले १७ बलमा २६ रन बनाए ।

इंग्ल्याण्डका ज्याकब बेथेल र ह्यारी ब्रुकले अर्धशतक प्रहार गरे । ज्याकब बेथेलले चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । यस्तै कप्तान ह्यारी ब्रूकले चार चौका र तीन छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले अविजित ३९ रन बनाए । त्यसक्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादव सबैभन्दा सफल बलर रहे । दीपेन्द्र र नन्दनले दुई-दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ । नेपालको समूहमा इंग्ल्याण्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।

Yangle News