नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण आयोजना मिति घोषणा भएको छ । यो महोत्सव चैत १९ देखि २३ (अप्रिल २ देखि ६) सम्म आयोजना हुनेछ ।
नवौं संस्करणमा दर्शकले ५ दिनभित्र ४० देशका ८८ फिल्म हेर्न पाउनेछन् । फिल्मकर्मीसँग संवादको समेत अवसर पाउनेछन् । ‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो । यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर फिल्म छनोट गरिएको निफले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसवर्ष ८० भन्दा धेरै देशबाट ८०० बढी फिल्मले महोत्सवमा भाग लिएका छन् । विश्व प्रसिद्ध कान्स, बर्लिन, भेनिस, ट्राइबेका, सांघाई, लोकार्नो, बुसान, गोवा लगायतका महोत्सवमा सहभागी भएका र अवार्ड जितेका कथानक, छोटा र एआईबाट बनेका फिल्म, डकुमेन्ट्री गरि ४० देशका ८८ फिल्म छनोट भएका हुन् । भदौ २३ र २४ मा जेनजी आन्दोलनपछि विकसित परिस्थितीको कारण महोत्सव स्थगित भएको थियो । यसपटक भने २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन सकिएपछि महोत्सवको मिति घोषणा गरिएको हो ।
शीर्ष पुरस्कार अन्तर्राष्ट्रिय फिचर विधाको विजेतालाई १५०० डलर राशीको ‘गौतम बुद्ध अवार्ड’ बाट पुरस्कृत गरिनेछ । राष्ट्रिय चलचित्र विधाको विजेतालाई १ लाख नगद, डकुमेन्ट्री विधामा उत्कृष्ट हुनेले १ हजार डलरको माउन्ट एभरेस्ट अवार्ड पाउनेछन् । दक्षिण एसियाली फिचर विधातर्फको विजेताले ५०० डलर र एआई चलचित्र विधाका विजेताले ५ सय डलरको ‘मञ्जुश्री अवार्ड’ पाउनेछन् । अन्तर्राष्ट्रिय स्टुडेन्ड सर्ट फिल्मका विजेताले ‘बेस्ट स्टुडेन्ड फिल्म अवार्ड’को ट्रफी पाउनेछन् ।
राष्ट्रिय सर्ट फिल्म विधाका विजेताले ‘सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड’ मार्फत पचास हजार रुपैयाँ दिइनेछ । राष्ट्रिय डकुमेन्ट्री विधाका विजेताले ‘बेस्ट नेसनल डकुमेन्ट्री’ अवार्डको ट्रफीसहित पचास हजार प्रदान गरिनेछ । राष्ट्रिय फिचरतर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा लेखक, छायाँकार विधामा पुरस्कृत गरिनेछ ।