पाटन दरबारमा पर्यटककालागि स्मार्ट शौचालय बनाइँदै

Yangle News
Yangle News
२०८० जेष्ठ १८ गते
पाटन दरबारमा पर्यटककालागि स्मार्ट शौचालय बनाइँदै

ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय निर्माण सुरु गरेको छ । स्तनपान कक्ष समेत रहने शौचालयको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरेका छन् ।

पुरातात्विक शैलीमा निर्माण गर्न लागिएको यो शौचालय अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री समेत हुनेछ । एक हजार ६६ वर्ग फिट क्षेत्रफलमा निर्माण हुने शौचालय पुरुषका लागि ६ वटा युरेनलसहितको ३ वटा र ६ वटा महिलाका लागि हुने ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख श्रीकुमार महर्जनले जानकारी दिए ।

पर्यटकका लागि संभवत पहिलो पटक निर्माण सुरु गरिएको शौचालय छ महिनाभित्र निर्माण सम्पन्न गर्ने महानगरको लक्ष्य छ ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले प्रत्येक वडामा स्मार्ट शौचालय निर्माणको योजना अघि सारेको बताएका छन् ।

तत्काल नौ वटा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि टेण्डर पनि आव्हान भइसकेको प्रमुख महर्जनले जानकारी दिए ।