नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले आयोजना गरेको “नेपाल चीन बिजनेस समिट” मा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिवद्धता जनाइएको हो । साथै चीनलाई नेपालका तर्फबाट लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह समेत गरिएको छ ।
द्धिपक्षीय व्यापार प्रवर्द्वन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताउनुभयो । उहाँले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गर्नुभयो । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको पनि बताउनुभएको थियो । चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको वहाँको भनाई थियो ।
सिसिपिआइटीको मुख्यालय बेइजिंगमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताउनुभयो । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताउनुभयो । उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो । यसैगरी, उहाँले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
समिटमा नेपाल उद्योगा वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक बर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराउनुभयो । वहाँले महासंघको आग्रहमा सरकारले लगानी सम्बन्धी आठवटा कानुन संशोधन गरेको र द्धिपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको जानकारी गराउनु भएको थियो ।
यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिंग भएको र उक्त रेटिंग दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको पनि अध्यक्ष ढकालले जानकारी गराउनुभयो । यसले लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उहाँले बताउनुभयो ।
वहाँले नेपालका जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताउनुभयो । पछिल्लो समय पर्यटन पूर्वाधारहरु जस्तै केवलकार, थिम पार्क, रिसोर्ट लगायतमा विदेशी लगानीको बढि सम्भावना देखिएको उहाँले बताउनुभयो । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउनुहुँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो ।
सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउदै समिट द्धिपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघले महासंघ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । नेपाल चीन बिजनेस समिटको यो दोस्रो संस्करण हो । महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो । यस अघि बेइजिंग, नयाँ दिल्ली र दुवईमा महासंघका साझेदार संस्था सिसिपिआइटी, कन्फिडरेसन अफ इन्डियन इण्डष्ट्रिर दुवई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो ।