विश्वसम्पदा सूचीमा सूचीकृत धार्मिकस्थलमा अर्बुद रोग निवारण संस्थाको पदयात्रा

Yangle News
Yangle News
२०८० माघ २१ गते
विश्वसम्पदा सूचीमा सूचीकृत धार्मिकस्थलमा अर्बुद रोग निवारण संस्थाको पदयात्रा

आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सर रोगबारेको जनचेता फैलाउने उदेश्यले देशैभरका आफ्ना शाखाहरुमा विशेष कार्यक्रमको आयोजना गरेको छ। संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौँमा रहेका विश्वसम्पदा सूचीमा सूचीकृत धार्मिकस्थलहरुमा पदयात्राको आयोजना गरिएको छ ।

काठमाडौँको जोरपाटीस्थित बौद्ध स्तुपाबाट सुरु भएको पदयात्रा पशुपती क्षेत्रहुँदै ललितपुस्थित पाटन दरबार क्षेत्रमा पुगेर समापन भएको थियो । पदयात्राका दौरान चेतनामूलक प्लेकार्ड बोकिएको थियो भने पर्चा र पम्प्लेट वितरण गरिएको थियो ।

र्याली समापन सभामा केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले नेपालमा भयावह रुपमा फैलिईरहेको क्यान्सर रोगको रोकथामका लागि निजी र गैर सरकारी क्षेत्रको मात्र प्रयास अपर्याप्त रहेको बताए  । उनले क्यान्सर रोगका विषयमा सरकार आफै गम्भीर भएर लाग्न सुझाव दिए ।

कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव दीपेन्द्र वान्तवाले भक्तपुरमा भक्तपुर क्यान्सर अस्पताल र लहानमा क्यान्सर  केयर सेन्टरको स्थापना र सफल सञ्चालन गरिसकेको बताउदै लामो समय पारामेडिक्सको हेरचाह आवश्यक पर्ने बिरामीका लागि हस्पिस सेन्टर स्थापनाको काम भईरहेको जानकारी दिए ।

संस्थाका चितवन, पोखरा, बारा, कपिलवस्तु, सिरहा, सुर्खेत लगायतका शाखाहरुले पनि क्यान्सर रोगबाट हुने हानी कम गर्न जनचेतनामूलक र्याली, अन्तरक्रिया, बक्तृत्व कला प्रतियोगिता, साइकल र्याली जस्ता कार्यक्रमको आयोजना गरेका छन् । हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाइने विश्व क्यान्सर दिवसको यस पटकको नारा “Close the care Gap” (क्यान्सर रोगीको उपचार र हेरचाहमा हुने असमानता बन्द गरौं) रहेको छ ।

नेपाल अर्बुद रोग निवारण संस्था पछिल्लो ४१ वर्षदेखि नेपालमा क्यान्सर रोगबारे जनचेतना जगाउने र यसको हानी कम गर्ने काममा निरन्तर लागि परेको छ । देशभर यसका ४४ जिल्लामा शाखा कार्यालयहरु छन् ।