अध्यादेशलगत्तै मतदाता नामावली संकलन सुरु

Yangle News
Yangle News
२०८२ अशोज १० गते
अध्यादेशलगत्तै मतदाता नामावली संकलन सुरु

निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम सुरु गरेको छ । आगामी फागुन २१ गते हुने चुनावका लागि आयोगले मतदाता नामावली संकलन सुरु गरेको हो ।

अन्तरिम सरकारले मतदाता नामावलीसम्बन्धी अध्यादेश ल्याएलगत्तै आयोगले मतदाता संकलनको काम सुरू गरेको हो । आयोगले मतदाता संकलनका लागि कात्तिक ३० गतेसम्मको समय तोकेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता बनाइसकेकाहरूले मतदाता नामावली दर्ता गर्न सक्नेछन् । त्यसका लागि विदा दिनबाहेक विहान ८ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालय खुला राखिनेछ ।

आयोगको वेबसाइट www.election.gov.np मा प्रि-रजिष्ट्रेशन प्रणाली (applyr.election.gov.np) बाट आवेदन भरी प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा बायोमेट्रिक दिन सकिने आयोगले जनाएको छ ।

त्यस्तै विवाह भई अन्यत्र गएका, बसाइसराई गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने समेत व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते चुनाव गर्ने म्यान्डेड पाएको छ । आयोग आगामी निर्वाचनको तीव्र तयारीमा जुटेको बताएको छ ।