देशका ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को पछिल्लो तथ्यांक अनुसार हाल बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कर्णालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।
अघिल्लो वर्षमा भन्दा यो वर्ष डेंगु फैलिने क्रम तीब्र रहेको इडीसीडीका अधिकारीहरु बताउछन् । अगस्ट, सेष्टेम्बर, अक्टोबर महिनामा संक्रमण बढी फैलिने गरेको छ । त्यसकारण यस वर्ष डेंगु फैलिने समय आउन बाँकी नै छ ।
अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।
दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै मात्र लामखुट्टे लाग्थ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘कीटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् ।
जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् ।