एनपीएल दोस्रो संस्करणको मिति घोषणा

Yangle News
Yangle News
२०८२ भदौ ५ गते
एनपीएल दोस्रो संस्करणको मिति घोषणा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको मिति घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता आगामी मंसिरमा हुने भएको हो ।

आगामी मंसिर १ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्यानद्वारा आज जारी प्रेस विज्ञप्ति जनाएको छ । उक्त प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ ।

पहिलो संस्करणको एनपीएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ । एनपीएलमा हाल आठ वटा फ्रेञ्चाइज टोली छन् । जसमा विराटनगर किंग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स छन् ।

पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको थियो । फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।

दोस्रो संस्करणको तयारीस्वरुप अहिले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ । हाल प्याराफिट निर्माण जारी छ ।