रुसी सेनामा भर्ना भएका नेपालीमध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ । पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन् । पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन् । यसबाहेकका यकिन विवरण भने नेपाल सरकारसँग छैन् ।
हालसम्म गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई जना नेपालीको मृत्यु भएको भन्दै परिवारका सदस्यले मन्त्रालयमा जानकारी गराएका छन् ।
रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ । रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भिजिट भिसामार्फत खाडी मुलुकबाट त्यहाँ गएका पाइएको छ ।
सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । साथै बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको उनले बताए ।
मन्त्रालयले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारलाई अनुरोध गरेको छ । गत महिना युगाण्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनमा भेट भएका रुसका सहायक विदेश मन्त्रीसँग नेपाल सरकारका प्रतिनिधिले रुसी सेनामा नेपालीलाई भर्ना रोक्न र स्वदेश फर्काउनका लागि कुरा गरेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय रुस–युक्रेन युद्ध चर्किदै गएपछि र ‘रेडजोन’मा पठाउन थालेपछि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकले आत्तिएर आफन्तमार्फत उद्धारको याचना गर्ने गरेका छन् । सन् २०२२ फेब्रुअरी २४ देखि सुरु रुस र युक्रेनबीच युद्ध जारी छ ।