गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उहाँको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम गर्ने धोको भए पनि उनीसँग कुनै सीप नहुँदा समय यसै बितिरहेको थियो ।
कहिलेकाहीँ अवसर भाग्य बनेर आउँछ भने झैँ उनलाई पनि त्यस्तै भयो । केही महिनाअघि जिआइजेड-रिप कार्यक्रमले जिल्लाका १० वटै स्थानीय तहलाई समेटेर अछाम जिल्लाको साँफेबगर बजारमा छ दिने सौर्य ऊर्जा प्रविधिहरूको मर्मतसम्भार तालिम सञ्चालन गरेको थियो । सो तालिममा लिएपछि उनको जीवनले बिस्तारै लय समाउन थालेको छ ।
तालिमपछि अहिलेसम्म उनले घरेलु सौर्य प्रणाली, सौर्य सडक बत्ती र संस्थागत सौर्य प्रणालीको मर्मतसम्भार गरी घरखर्च कटाएर ५२ हजारभन्दा बढी आम्दानी गरिसकेका छन् । उनि भन्छन्, “गाउँमै बसेर आम्दानी गर्न सकिने भएपछि अब विदेश जाने सपना सकियो । आफूलाई पनि आम्दानी हुने र गाउँलेलाई पनि सेवा पुग्ने ।”
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका धेरैजसो स्थानीय तहमा केन्द्रीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच नहुँदा विगतदेखि नै नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरूको प्रयोग हुँदै आएको छ । यी प्रविधिहरूको मर्मतसम्भारका लागि स्थानीय स्तरमा दक्ष जनशक्तिको अभाव हुँदा स्थानीयवासीले त्यसको उपयोग गर्न पाएका छैनन् । सोही सौर्य ऊर्जामा आधारित यी प्रविधिहरूको मर्मतसम्भारका लागि स्थानीय सरकारहरूको आग्रहमा सो तालिम सञ्चालन गरिएको थियो ।
अछाम जिल्लाका सबै पालिकाबाट महिला तथा पछाडि परेका समुदायबाट एक महिला र १९ पुरुष गरी जम्मा २० जनाले तालिम लिएका थिए । तालिमपश्चात् धेरैजसो स्थानीय तहले तालिम लिइआएका सौर्य ऊर्जा प्राविधिकहरूलाई दिनगन्ती, छोटो सम्झौता तथा मासिक रूपमा सम्झौता गरी सौर्य ऊर्जाका विभिन्न प्रविधिहरूको मर्मतसम्भारका लगाउन सुरु गरिसकेका छन् ।
मैल्लेख गाउँपालिकाबाट तालिममा सहभागी भएको खेम साउदले पनि विभिन्न किसिमका सौर्य ऊर्जा प्रविधिहरूको मर्मतसम्भार तथा घरको वायरिङबाट हालसम्म करिब दुई लाख ५० हजारभन्दा बढी आम्दानी गरेको बताउछन् ।
विभिन्न सौर्य ऊर्जाबाट चल्ने सामानहरु जडानकर्ता कम्पनीले समयमा नै मर्मतसम्भार नगर्दा प्रविधिहरू नियमित सञ्चालनमा समस्या देखिएको र केही स्थानमा बन्द अवस्थामा रहेकामा अब बिस्तारै स्थानीय युवाहरूले नै मर्मतसम्भारको काम गर्न थालेपछि स्थानीयले पनि राहत महसुस गर्न थालेका छन् ।