बन्धक रिहाइ हुने भएपछि इजरायलमा खुसियाली, ट्रम्पको प्रशंसा

Yangle News
Yangle News
२०८२ अशोज २६ गते
बन्धक रिहाइ हुने भएपछि इजरायलमा खुसियाली, ट्रम्पको प्रशंसा

हमास र इजरायलबीच सम्झौता भएपछि हमासद्वारा बन्धक बनाइएका बन्दीहरूको रिहाइ हुने पक्का भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई दुवैले सकरात्मक रुपमा लिँदै सम्झौता गरेपछि जीवित र मृत सबै बन्धकहरु रिहाइ हुँदैछन् ।

यस्तोमा इजरायलबाट हमासको अपहरणपछि बन्धक बनाइएका नेपालका विपिन जोशीसहित २२ बन्दक जीवितै रहेको विश्वास इजरायलले गरेको छ । बन्धीहरु रिहाइ हुने भएपछि तेलअभिभ लगायत इजरायली शहरुमा लाखौं मानिसले चाँडो रिहाइका लागि प्रदर्शन गरेका छन् । साथै यो सम्झौतामा खुसीसमेत साँटेका छन् । उनीहरुले दीर्घकालीन शान्तिका लागि जोड दिएका छन् । सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दै ‘थ्यांक यू, ट्रम्प’ भन्दै नाराबाजी गरेका छन् ।

वासिङ्गटन पोस्टले विपिनसहित २२ बन्दी जीवितै रहेको विश्वास इजरायलको रहेको उल्लेख गर्दै समाचार लेखेको छ । समाचारमा जीवित ठानिएका २२ जना बन्दीहरूको संक्षिप्त परिचय पनि उल्लेख गरिएको छ ।

गाजामा पछिल्लो युद्धविराम शुक्रबारदेखि लागू भएको छ । करिब दुई वर्ष लामो विनाशकारी युद्धपछि शान्ति तर्फको यो ठुलो कदमका रुपमा हेरिएको छ । यो युद्ध हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो, जसमा करिब १२०० जना मारिएका थिए भने २५१ जनाको अपहरण भएको थियो ।

त्यस्पछि इजरायलले गरेको जवाफी आक्रमणमा परी ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । साथै गाजा सिटी ध्वस्त बनेको छ । करिब २० लाख जनसंख्या भएको गाजामा ९० प्रतिशत भन्दा बढी मानिस विस्थापित भएका छन् ।

विभन्न समयमा बन्धकहरु रिहाइ हुँदै अहिले गाजामा ४८ जना बन्धक रहेका छन्, जसमा अघिल्लो युद्धमा मारिएका एक सैनिकको शव पनि समावेश रहेको जनाइएको छ । इजरायलले कम्तीमा २५ जना बन्धक ७ अक्टोबर २०२३ मा मारिएको वा बन्दी अवस्थामा मृत्यु भएको जनाएको छ । यसअघि करिब २० जना जीवित रहेको दाबि गरिएको थियो ।

Yangle News

शुक्रबार युद्धविराम सुरु भएपछि बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरिएको छ । यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ । युद्धविराम सहमतिअनुसार सोमबार अपराह्न सम्ममा सबै ४८ जनालाई रिहा गरिसक्नुपर्ने छ । यद्यपि हमासले भने उक्त अवधिमा सबै बन्धकलाई हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागेको छ ।

विपिनको परिचयमा उनी आक्रमण हुनु एक महिना अघिमात्र आफ्नो जन्मभूमि नेपालबाट इजरायल आएको र उनी गाजामा अझै जीवित रहेको विश्वास गरिएका एकमात्र गैर-इजरायली बन्धक भएको बताइन्छ । उनी विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत गाजाको सीमा नजिक रहेको किब्बुट्ज अलुमिममा कृषि अध्ययन र काम गर्न इजरायल आएका थिए ।

आक्रमणका क्रममा उक्त कार्यक्रममा सहभागी १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो ।