रसुवागढी अन्तर्राष्ट्रिय नाका आज (पुस १७)देखि पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । गएको असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको नाका बिहीबार बिहानदेखि सञ्चालनमा ल्याइएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार चीन सरकारले ९१ मिटर लम्बाइको बेलीब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा ल्याइएको हो । उक्त पुलको भारवहन क्षमता ५५ टनबराबर रहेको उनले जानकारी दिए ।
नाका खुलाइएपश्चात् चिनियाँ सामान आयातका निम्ति आठ नेपाली कन्टेनर मितेरी पुल पार गरी केरुङतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जान तयारी अवस्थामा रहेको बताए । सामान आयातको करबाट संकलन हुने राजस्व गत वर्षको तुलनामा यसपालि हालसम्म २२ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
स्याफ्रुबेसी-रसुवागढीखण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षामा विशेष ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरिएको सवारीचालक रसुवाको यार्साका सुकु तामाङले बताए ।
असार २४ गतेको बाढीले दर्जनौँ स्थानमा सडक कटान गरेको थियो । गल्छी-रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरेर बाटोको ट्रयाक मात्र खोलेको थियो ।