महिला टी-ट्वान्टी विश्वकप छनोटमा नेपाललाई ऐतिहासिक सफलता

Yangle News
Yangle News
२०८२ जेष्ठ ५ गते
महिला टी-ट्वान्टी विश्वकप छनोटमा नेपाललाई ऐतिहासिक सफलता

नेपालले पहिलोपटक आइसीसी महिला टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको छ ।

आज एसिया छनोटअन्तर्गत सुपर-३ को आफ्नो पहिलो खेलमा नेपालले युएईविरुद्ध पाँच विकेटको जित दर्ता गर्यो । यो हारसँगै युएईको भने विश्वकप यात्रा सकिएको छ ।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३०, रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाए । युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले सामना एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय १४ रनको योगफल तयार पारेको थियो । युएईका लागि इशा ओजाले ३९, तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए । नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमति ऐरीले एक विकेट लिए ।

अब नेपालले सुपर-३ को आफ्नो दोस्रो तथा अन्तिम खेलमा भोलि घरेलु टोली थाइल्यान्डको सामना गर्नेछ । ग्लोबल क्वालिफायरमा कुल १० राष्ट्रबीच विश्वकप प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ । एसियाबाट नेपाल र थाइल्याण्डसँगै अमेरिका र सन् २०२४ को विश्वकपबाट स्कटल्याण्ड र बङ्गलादेशले ग्लोबल क्वालिफायर खेल्ने निश्चित भएको छ । अब युरोपबाट २, अफ्रिकाबाट २ र इस्ट एसिया प्यासिफिकबाट १ गरी ५ राष्ट्र छनोट हुनेछन् ।

ग्लोबल छनोटबाट ४ राष्ट्र २०२६ को जुनमा इंग्ल्याण्डमा हुने विश्वकपको लागि छनोट हुनेछन् । ग्लोबल छनोटमा सहभागी टिमहरुलाई २ समूहमा विभाजन गरेर हरेक समूहबाट शीर्ष २ टोली अघि बढ्नेछन् । ग्लोबल छनोटको मिति र स्थान भने तय भइसकेको छैन ।

108 views