सैनिक सम्मानसहित विपिन जोशीको शव परिवारलाई बुझाइयो

Yangle News
Yangle News
२०८२ कार्तिक ३ गते
सैनिक सम्मानसहित विपिन जोशीको शव परिवारलाई बुझाइयो

प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ परिवारलाई बुझाइएको छ । जोशीका दाजु किशोर जोशी सहितका आफन्तले शव बझेका हुन् ।

नेपाली सेनाको टोलीले सम्मानका साथ शव हस्तान्तरण गरेको हो । उनको अन्त्येष्टि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली घाटमा गरिने परिवारले जनाएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका जोशीको मृत्यु गत असोज २७ गते इजरायली अधिकारीहरूले पुष्टि गरेका थिए । युद्धविरामपछि हमासले इजरायली सेनालाई उनको शव हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक रिपोर्टबाट शव विपिनकै भएको प्रमाणित भएको हो ।

नेपाल ल्याउनुअघि तेल अभिभमा उनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो । आज अपरान्ह पार्थिव शरीर काठमाडौं ल्याइपुर्‍याएपछि स्वर्गीय जोशीप्रति प्रधानमन्त्री सुशीला कार्कीले हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिन् ।

शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बाससहित उच्च अधिकारीहरू उपस्थित थिए । उनीहरूले पनि स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

जोशीको शव आजै विमानमार्फत धनगढी र त्यहाँबाट कञ्चनपुरस्थित घरसम्म पुर्‍याइएको हो ।

Yangle News