प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सरकार, राजनीतिक दल र जेनजीको पहिलो संयुक्त बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुटारमा बसेको बैठक साढे ४ घण्टामा सकिएको छ ।
आजको बैठक आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन केन्द्रित भएको थियो । बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मुलुक आफूहरूले नै बनाउनुपर्ने बताइन् । उनले बैठकको सुरुवातमै भनेकी थिइन्, ‘हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन । एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौं । आ-आफ्ना विचार राख्न म खुला गर्छु ।’
बैठकमा जेनजीहरुले सुशासन, भ्रष्टचारीहरुलाई कारबाही लगायतका मागहरू सरकारले सम्बोधन गर्नुपर्न बताए । उनीहरुले कारबाही र सुशासनलाई सँगसँगै लैजान पनि सरकारसँग माग गरे । चुनाव हुनैपर्ने तर चुनाव भएर मात्रै पनि नहुने उनको भनाइ छ । ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’ उनीहरुले भने, ‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचार विरुद्धको कारबाही हो । यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ ।’
छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा सहभागी धेरैले भने निर्वाचन गर्न सुरक्षा चुनौतीबारे चिन्ता प्रकट गरेका थिए । जवाफमा प्रधानमन्त्रीले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै दलहरूलाई आश्वस्त पारेकी थिइन् ।
जेनजीका प्रतिनिधिले बोलेपछि पार्टीका प्रतिनिधिहरूले धारणा राखेका थिए । कांग्रेस, माओवादी र रास्वपा लगायतका दलले चुनावका लागि सरकार अघि बढे साथ दिने धारणा राखेका थिए । एमालेले भने संसद् पुनर्स्थापनामा जोड दिएको थियो । बैठकपछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जेनजीहरुले सुशासनका लागि आन्दोलन गरेको र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न दलहरुको सहभागिता हुनुपर्ने धारणा राखेको बताए ।
सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत सहभागी थिए ।