पाकिस्तानको संसद भंग, तीन दिनभित्र कार्यबाहक प्रधानमन्त्री चयन गर्ने तयारी

Yangle News
Yangle News
२०८० साउन २५ गते
पाकिस्तानको संसद भंग, तीन दिनभित्र कार्यबाहक प्रधानमन्त्री चयन गर्ने तयारी

 

पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् । पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । तर त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गरिएको हो । संसद भंगसँगै त्यहाँको मन्त्रिपरिषद पनि भंग भएको छ । यद्यपि अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल हालका प्रधानमन्त्री शहबाज शरीफ पदमा कायमै रहनेछन् । तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने वीवीसीले जनाएको छ । कार्यवाहक प्रधानमन्त्री चयन गर्नु अगाडि विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीच छलफल हुने तय भएको छ । नेता रियाजले नयाँ प्रधानमन्त्री चयनका लागि सहमतिको कोसिस गर्न छलफल गर्न लागेको बताएका छन् ।

अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा छ ।  भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्षको जेल सजायँ तोकिएको छ । पाकिस्तानको निर्वाचन आयोगले खानले पाँच वर्षसम्म चुनावमा भाग लिन नपाउने निर्णय गरेको छ ।

282 views