‘सडकबाटै देखाइदिने’ धम्कीपछि ‘हाइ अलर्ट’मा प्रहरी वृत्त

Yangle News
Yangle News
२०८२ अशोज २० गते
‘सडकबाटै देखाइदिने’ धम्कीपछि ‘हाइ अलर्ट’मा प्रहरी वृत्त

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । जेनजी नेताका रूपमा चिनिएका सुदन गुरुङको समूह जाहेरी लिएर आज साँझ जिल्ला प्रहरी परिसरमा पुगेको थियो ।

ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाउँदै आएको हामी नेपाल संस्थाका अध्यक्ष गुरुङको समूह काठमाडौं प्रहरीमा पुगे पनि प्रहरीले भने जाहेरी दर्ता गर्न नमानेको हो । प्रहरीले आयोगले छानबिन गरिरहेको जनाउँदै दर्ता गर्न नमानेको बताइएको छ । प्रहरीका एक अधिकृतले जाहेरी रितपूर्वक नआएको उल्लेख गरेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा प्रहरी प्रशासनले अत्यधिक बल प्रयोग गरेको थियो । दुई दिनमा २५ सय बढी गोली प्रहार हुँदा भड्किएको परिस्थितिमा कम्तीमा ७५ जनाको मृत्यु भएको थियो । उक्त घटना छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि ‘सडकबाटै देखाइदिने’ भन्दै सुदनको समूह प्रहरी कार्यालयबाट बाहिरिएको थियो । उक्त धम्कीपछि काठमाडौं प्रहरी परिसरले आफ्ना सबै वृत्तलाई ‘हाइ अलर्ट’मा राखेको छ । साथै, सम्पूर्ण बिटबाट प्रहरीहरू वृत्तमा तानिएका छन् ।