शिक्षक आन्दोलन : पत्रकारसहित ५० बढी घाइते

Yangle News
Yangle News
२०८२ बैशाख १४ गते
शिक्षक आन्दोलन : पत्रकारसहित ५० बढी घाइते

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ ।

बिजुलीबजारबाट प्रदर्शनसहित बानेश्वर पुगेका शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा आज झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो ।

झडपका क्रममा ५० भन्दा बढी शिक्षक घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै आन्दोलनको समाचार संकलन गर्न बानेश्वर पुगेका पत्रकार सविना कार्की पनि घाइते भएकी छन् । पानीको फोहोराबाट कार्कीको आखामा गम्भीर चोट लागेको छ ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले आइतबार आज २६औं दिन पनि प्रदर्शन गरेका हुन् । महासंघले आफूहरुको आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ ।