उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषाको पहिलो चरणको परीक्षा सुरु

Yangle News
Yangle News
२०८० फाल्गुन ७ गते
उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषाको पहिलो चरणको परीक्षा सुरु

 

सन् २०२३ को उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षामा १ लाख ६३ हजार ६३५ जना परीक्षार्थी सहभागी हुँदैछन् । सोमबारबाट सुरु पहिलो चरणको परीक्षा चैत २४ सम्म चल्ने छ । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाकाअनुसार तीन चरणमा परीक्षा हुनेछ ।

दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म र तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म सञ्चालन हुनेछ । परीक्षा यूबीटी भवन भैंसेपाटीमा कोरियाको एचआरडी कोरियाको प्रत्यक्ष निगरानीमा दैनिक पाँच सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ । प्रत्येक सिफ्टमा २०० जनाको दरले एक दिनमा एक हजार जनाको परीक्षा ट्याब (कम्प्युटर) मा सञ्चालन हुनेछ ।

‘आफ्नो परीक्षा कुन दिन र कुन सिफ्टमा पर्छ सो कुरा थाहा पाउन ईपीएस कोरिया शाखाको वेबसाइटमा गई एकिन गर्नु पर्नेछ,’ शाखाले निकालेको सूचनामा भनिएको छ,‘परीक्षा सञ्चालन हुनु भन्दा कम्तीमा १ घण्टा अगाडि बायोमेट्रिक भेरिफिकेसनको लागि परीक्षा केन्द्रमा अनिवार्य रुपमा पुग्नु पर्ने छ ।’

त्यसपछि परीक्षा सञ्चालन हुनुभन्दा ३० मिनेट अगाडि परीक्षा सञ्चालन सम्वन्धी जानकारीमूलक कक्षा सञ्चालन हुने शाखाले जानकारी दिएको छ । शाखाका अनुसार आफ्नो परीक्षा सञ्चालन हुने दिनको एक दिन अगाडि ईपीएस कोरिया शाखा ग्वार्कोमा बायोमट्रिक फिंगरप्रिन्ट रजिष्ट्रेसन गर्नु पर्नेछ ।

‘परीक्षामा सहभागी हुन सक्कल पासपोर्ट र प्रवेश पत्र आवश्यक पर्ने हुँदा उक्त कागजातहरु अनिवार्य रुपमा आफ्नो साथमा लिई तोकिएको समय र मितिमा परीक्षामा सहभागी हुन सम्पूर्ण परीक्षार्थीहरुमा अनुरोध गरिन्छ,’ शाखाले सूचनामा भनेको छ ।

343 views