प्रदेश सरकारले महत्त्वको साथ घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ उद्घाटन भएको छ ।
तेह्रथुमको तिनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रबाट पर्यटन वर्षको उद्घाटन भएको हो । बुधबार पर्यटन वर्षको उद्घाटन सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा यसपटक भने गुराँस फुलेको छैन ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंह र कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीलगायतले पर्यटक आवागमनमा वृद्धि गर्न र आधार निर्माणका लागि पर्यटन वर्ष घोषणा गरिएको बताएका छन् ।
कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्त्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्त्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटनमार्फत राष्ट्रिय पुँजी निर्माण गरिने उल्लेख गरेका छन् । स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै यो प्रदेश नमुना प्रदेशको रूपमा लैजाने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता छ ।
प्रदेश सरकारले कोशी प्रदेशमा रहेका अनेकौं पर्यटनको सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष मनाउन सुरु गरिएको हो । पर्यटन वर्षपछि पर्यटकीय गन्तव्यको पहिचान गरेर २०८३ मा कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी प्रदेश सरकारको रहेको छ ।
‘रमणीय कोशी’ भन्ने नाराका साथ मनाउन लागिएको पर्यटन वर्षका लागि प्रदेश सरकारले ८२ पर्यटकीय गन्तव्यको सूचीसमेत तयार गरेको छ ।