प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

Yangle News
Yangle News
२०८२ भदौ २९ गते
प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार (भदौ २९) पदभार ग्रहण गरेकी छन् । सिंहदबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा उनले पदभार ग्रहण गरेकी हुन् । तत्कालका निम्ति उक्त भवनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निर्धारण गरिएको छ ।

पदभार ग्रहणपछि परिचयात्मक कार्यक्रममा सरकारका सचिवहरू, नेपाली सेनाका प्रधानसेनापतिसहित रथीहरू, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)सहित सिनियर अधिकृतहरू र सशस्त्र प्रहरी बलका महानिरीक्षकसहितको उपस्थिति थियो । उपस्थित सबैले पालैपालो आफ्नो परिचय दिँदै कार्कीलाई बधाईसहित सफल कार्यालयको शुभकामना दिएका थिए । प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसहित उच्च सरकारी अधिकारीहरूले बधाईसहित सफल कार्यालयको शुभकामना दिएका थिए ।

प्रधानमन्त्री कार्कीले अपराधीले नेपालका सम्पूर्ण अभिलेख र सम्पत्ति सखाप पारिदिएको बताइकी छन् । ‘जेनजी’ आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी उनले आइतबार (भदौ २९) सिंहदबारमा पदभार ग्रहणपछि त्यस्तो अपराधमा संलग्नलाई कसरी नेपाली मान्ने भन्दै प्रश्न गरिन् । ‘नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली नागरिक कसरी भन्ने ?,’ प्रधानमन्त्री कार्कीले प्रश्न गर्दै भनिन्, ‘यो देशमा पहिलोपटक यस्तो भएको हो । मलाई जहाँसम्म लाग्छ, ‘प्लान वे’मा षड्यन्त्र भएकै हो कि जस्तो लाग्छ ।’

उनले भदौ २४ गते देशका निम्ति अन्त्यन्त आवश्यक कुराको ‘मटियामेट’ पारिएको बताइन् । ‘अपराधीको पछाडि को छ, यसको खोजबिन गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘म जुन परिस्थितिमा आएँ, म रहरले आएको पनि होइन । सडकबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेपछि आएको हुँ । म सत्ताको रसास्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन ।’

उनले आफ्नो टिमलाई खोजिएका कारण ‘यस्तो अवस्थामा हामीले देशको सेवा किन नगर्ने ?’ भनेर आएको बताइन् । आफ्नो टिमले ६ महिनामा चुनाव गराएर नयाँ मन्त्रीहरूलाई जिम्मेवारी सुम्पने उनले अठोट गरिन् । ‘सुरक्षा निकायले साथ नदिईकन, प्रशासनले साथ नदिईकन यो सम्भव छैन,’ उनले भनिन् ।

पदभार ग्रहण गरेपछि प्रधानमन्त्री कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिन् । यस्तै, आन्दोलनका क्रममा घाइते भएकाका निःशुल्क उपचारको निर्णय गरिएको छ ।

कार्कीलाई शुक्रबार (भदौ २७) नै प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । सोही दिन उनले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । कार्यालयको टुंगो नलाग्दा उनी बालुवाटारस्थित आफ्नो निवासमा बस्दै आएकी थिइन् ।