थाइल्यान्डको प्रधानमन्त्रीमा अनुतिन चार्नभिराकुल निर्वाचित

Yangle News
Yangle News
२०८२ भदौ २१ गते
थाइल्यान्डको प्रधानमन्त्रीमा अनुतिन चार्नभिराकुल निर्वाचित

थाइल्यान्डमा अनुतिन चार्नभिराकुल शुक्रबार सदनमा भएको मतदानबाट प्रधानमन्त्री निर्वाचित भएका छन् । भूमजैथाइ पार्टीका नेता अनुटिन चर्नभिराकुलले प्रधानमन्त्री पदका लागि भएको संसदीय मतदानमा सहज जित हासिल गरेका हुन् । उनले ४९२ सांसदमध्ये बहुमतका लागि आवश्यक २४७ मतभन्दा धेरै अर्थात् ३११ मत प्राप्त गरे ।

अनुतिनले उदारवादी ‘पिपल्स पार्टी’को समर्थनमा लोकप्रिय ‘फ्यू थाई’ पार्टीका उम्मेदवार चैकासेम नितिसिरीलाई पराजित गरेका हुन् । चैकासेमले १५२ मत प्राप्त गरे भने २७ जना सांसद तटस्थ बसे ।

शुक्रबारको मतदानको परिणामसँगै अनुतिनले सत्तारूढ ‘फ्यू थाइ’ पार्टीकी नेतृ पेटोङ्तार्न शिनावात्राको स्थान लिएका छन्, जसलाई गत महिना संवैधानिक अदालतले नैतिकतासम्बन्धी विवादमा पदमुक्त गरेको थियो ।

योसँगै एक हप्तादेखिको राजनीतिक गतिरोध र अन्योललाई अन्त्य गरेको छ । उनले शिनावात्रा परिवारको एक समयको शक्तिशाली सत्तारूढ दलका उम्मेदवारलाई सहजै पराजित गरे । थाइल्यान्डको इतिहासमा सबैभन्दा सफल राजनीतिक दललाई पछाडि पार्दै उनले सत्ताको दौडमा विजय हासिल गरे ।

वर्षौंदेखिको राजनीतिक उथलपुथलको अवस्थामा चतुर राजनीतिक खेलाडी अनुतिन थाइल्यान्डको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका थिए ।

उनले आफ्नो भूमजैथाइ पार्टीलाई सत्ताको लागि भइरहेको संघर्षमा आफ्नो पार्टीलाई रणनीतिक रूपमा स्थापित गर्दै एकपछि अर्को गठबन्धन सरकारमा स्थान दिलाएका थिए । मतदानअघि अनुतिनले सदनमा कुनै सम्बोधन गरेनन् ।

गत जुनमा अनुतिन गठबन्धनबाट बाहिरिएपछि ‘फ्यू थाइ’ पार्टीमाथि संकट सुरु भएको थियो । त्यसपछि गठबन्धन सरकार एकदमै कमजोर बहुमतका साथ सत्तामा टिकिरहेको थियो । त्यसबेला प्रदर्शन र लोकप्रियताको भारी गिरावटको सामना गरिरहेको थियो ।

अन्तिम प्रहारको रूपमा गत हप्ता संवैधानिक अदालतले पूर्वप्रधानमन्त्री थाक्सिनकी छोरी तथा उत्तराधिकारी पेटोङ्तार्न शिनावात्रालाई बर्खास्त गरेको थियो । सेना वा न्यायपालिकाद्वारा हटाइएको उनी शिनावात्रा परिवारबाट आएका वा समर्थित छैटौँ प्रधानमन्त्री थिइन् ।