काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दशौं दिन दुई जनालाई जिबितै उद्धार गरेको छ ।
नेपाली सेनाले र सशस्त्रका उद्धारकर्मीले भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय साह र कबिर महर्जनलाई उद्धार गरेका हुन् । उद्धार गरिएका मध्ये कविर महर्जनको अवस्था भने जतिल रहेको छ । उनलाई काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ । यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको जनाएको छ ।
स्वास्थ्य अवस्था स्थिर रहे पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइँदै छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञसहितको संयुक्त टोलीले शुक्रबार बिहान सुरुङभित्र उद्धार अभियान सञ्चालन गरेको थियो । आयोजनाभित्र मानिस फसेको आशंकापछि बाढी कम भएपछि सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास हुँदै आएको थियो । दुई जनाको उद्धारपछि पनि सो क्षेत्रमा उद्धार जारी राखिएको छ ।
त्रिशूली–३ ए आयोजना नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा सञ्चालित छ । आयोजनाको ड्याम रसुवाको भूभागमा पर्छ ।विद्युत्त प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसी, सैनिक टोली र थप जनशक्ति पावर हाउसभित्र प्रवेश गरेका छन् । उद्धारकर्मी बिहान जीवित भेटिएको स्थानभन्दा अगाडी पसेर त्यहाँ फसेकाहरूलाई खोज्ने प्रयास गरिरहेका छन् ।