संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा आज सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो ।
खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । जवाफमा यूएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । यूएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रन बनाए । त्यस्तै अलीशान शरफुले १८ रन बनाए भने अक्षदीप नाथले अविजित १७ रन जोड्दै टोलीलाई जित दिलाए । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए ।
कीर्तिपुर क्रिकेट मैदानमा ‘फ्लड लाइट’मा खेलिएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १८.५ ओभरमा आठ विकेट गुमाएर एक सय २२ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण लामो समय खेल अवरुद्ध भएको थियो । वर्षा रोकिएपछि पुन खेल शुरू हुँदा यूएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएको हो ।
वर्षाका कारण खेल स्थगित हुँदा नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरी ३५ बलमा दुई चौकाको मद्दतले सर्वाधिक ३२ रन बनाउँदै क्रिजमा थिए । सन्दीप लामिछानेले अविजित दुई रन बनाएका थिए । नेपालका लागि ओपनर कुशल भुर्तेलले १६, अर्जुन साउदले १३, कुशल मल्लले १७, बसिर अहमदले १४ र नन्दन यादवले १३ रन बनाए । यूएईका बलर मुहम्मद जुहेबले तीन र जुनैद सिद्दकीले दुई विकेट लिए ।
नेपाल र यूएईबीचको दोस्रो टी-२०आई खेल मंगलबार हुनेछ ।