अमेरिकी वैज्ञानिकहरुले उमेर बढ्दै जाँदा कपाल फुल्ने वा सेतो हुने कारण पत्ता लगाएको दाबी गरेका छन् । जब कपाल कालो राख्ने कोशिकाहरूले परिपक्व हुने क्षमता गुमाउँछन्, तब कपाल सेतो हुन थाल्ने वैज्ञानिकहरूको दावी छ ।
यदि यी कोशिकाहरू परिपक्व हुन्छन् भने, तिनीहरू मेलानोसाइट्समा परिणत हुन्छन्, जसले कपालको प्राकृतिक रंगलाई कायम राख्छ ।
न्यूयोर्क विश्वविद्यालयका अनुसन्धानकर्ताको टोलीले मुसामा यो अध्ययन गरेको हो । अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले दावी गरेका छन् कि यसले सेतो कपाललाई फेरि कालो बनाउने प्रक्रिया सुरु गर्न मद्दत गर्नेछ।
ब्रिटिस एसोसिएसन अफ डर्मेटोलोजिष्ट्स ९बीएडी० का अनुसार, मेलानोसाइट्सको अध्ययनले केही क्यान्सर र अन्य स्वास्थ्य अवस्थाहरूको लागि बुझ्न र उपचार खोज्न मद्दत गर्नेछ ।
कपाल कसरी सेतो हुन्छ ?
मानिसको जीवनको सामान्य प्रक्रिया हो, उमेर बढ्दै जादा कपाल फूल्ने र झर्ने । जुन हरेकको जीवनमा चल्छ । छालामा रहेको हेयर फोलिकल्सबाट कपाल निस्कन्छ, जहाँ कपाललाई कालो राख्ने कोशिकाहरू हुन्छन् ।
यी कोशिकाहरू नियमित रूपमा बन्छन् र नष्ट पनि हुन्छन् । यी कोशिकाहरू स्टेम सेलहरूबाट बनेका हुन्छन् । न्युयोर्क युनिभर्सिटीका वैज्ञानिकका अनुसार, जब स्टेम सेलहरूबाट यी कोशिकाहरूको निर्माण कुनै कारणले अड्किन्छ, तब मानिसहरूको कपाल सेतो हुन थाल्छ ।
न्यूयोर्क युनिभर्सिटीको लाङवान स्वास्थ्य टोलीले विशेष स्क्यानिङ र प्रयोगशाला प्रविधिको सहयोगमा यी कोशिकाहरूको निर्माण र वृद्धि प्रक्रियाको अध्ययन गरेको छ । जब कपालको उमेर बढ्दै जान्छ र झर्न थाल्छ, तब कपाल निरन्तर बढ्दै जान्छ । तर पछि मेलानोसाइट्स कोशिकाहरू सुस्त हुन थाल्छन् ।
स्टेम सेलहरू आफ्नो ठाउँमा स्थिर हुन्छन् र मेलानोसाइट्समा विकास गर्न सक्दैनन् । जसका कारण कलर बनाउने प्रक्रियामा बाधा पुग्छ र कपाल सेतो हुन थाल्छ ।