युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले क्यान्सर रोग बारेको जनचेतना फैलाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपालमा क्यान्सर रोगको रोकथामका लागि सरकारले आजबाट सुरु गरेको एचपीभी भ्याक्सिन अभियान २०८१ लाई सफल बनाउन युवाहरुले भूमिका खेल्नु पर्ने मन्त्री चौधरीले बताउनुभयो । नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) ले ४ फेब्रुअर अर्थात विश्व क्यान्सर दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको जनचेतनामूलक र्यालीको उद्घाटन गर्दै वहाँले यस्तो बताउनुभएको हो ।
संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोकथाममा सरकारको योजनाहरु सकारात्मक हुँदै गएकाले यसमा सबैको साथ आवश्यक रहेको बताउनुभयो । विश्व क्यान्सर दिवसको यस वर्षको नारा “United By Unique” पृथकतामा एकताले क्यान्सर रोग, एक भए पनि यसका भोगाइहरु हरेक व्यक्तिपिच्छे फरक हुने भएकाले हाम्रा परिवारका सदस्य वा वरपरका क्यान्सर रोगीहरुप्रति जिम्मेवार भएर व्यवहार गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।
विश्व क्यान्सर दिवसकै अवसर पारेर नेपाल अर्बुद रोग निवारण संस्थाले काठमाडौका विभिन्न स्थानबाट उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल जाने बिरामीहरुका लागि निशुल्क बस सेवा सुरु गरेको छ । हाल काठमाडौको रत्नपार्कबाट रिङरोड हुँदै बस भक्तपुर क्यान्सर अस्पताल पुग्नेछ ।
र्यालीमा संस्थाका केन्द्रीय पदाधिकारी, शाखाका प्रतिनिधि, त्रिवि शिक्षण अस्पताल महारागजमा अध्ययनरत एवीवीएस विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि, विभिन्न विद्यालका विद्यार्थीहरु गरी पाँच सय बढीको सहभागिता थियो । र्याली काठमाडौँको भृकुटीमण्डपबाट- सहीदगेट- जुद्ध शालिक- असन- जमल- त्रिचन्द्र कलेज- पुरानो बस पार्क हुँदै भृकुटिमण्डपमा आएर समापन भएको थियो ।