भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडपर्वलक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् । छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिए ।
बैठकमा काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीसाधनमध्ये सार्वजनिक सवारीसाधनहरू नागढुंगा-सिस्नेरी-सुरुङमार्गबाट बाहिर जाने व्यवस्था मिलाउने र दशैंपछि त्यस्ता सवारीसाधन प्रवेशसमेत गर्न पाउने व्यवस्था मिलाउन छलफल भएको घिसिङको सचिवालयले जनाएको छ ।
काठमाडौं उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त-दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
राजमार्गहरूको कमजोर अवस्था तथा यात्रुवाहक सवारीसाधनहरूको आवागमनलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागू हुने गरी ठूला भारवाहन सवारीसाधन (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न/नगराउन अनुरोध गर्ने निर्णय गरिएको छ ।
उक्त सडकखण्डका लागि खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीहरू ढुवानी गर्ने सवारीसाधनहरूलाई निरन्तर आवागमनको व्यवस्था मिलाउन भनिएको छ ।
मुलुकभरका मुख्य सडकहरूलाई चुस्त-दुरुस्त राख्न, सुधार गर्न/गराउन, पहिरोजन्य विपद्हरूको व्यवस्थापन गर्न आवश्यक सामग्री तथा यन्त्रहरूको व्यवस्थापन गर्न, बुटवल-नारायणगढ सडकको दाउने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैंअगाडि सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न/गराउन बैठकले सडक विभागलाई निर्देशन दिएको छ ।
आमनागरिकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत भएको छ । देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुने गरी ‘फोकल पर्सन’ समेतको व्यवस्थापन गर्न र गराउन सडक विभागलाई निर्देशन दिइएको छ ।