एसियाली विकास बैंक (एडीबी)ले दक्षिण एसिया विभागको महानिर्देशकमा सोना श्रेष्ठलाई नियुक्त गरेको छ । एडीबीले बुधबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति तथा कार्यक्रमहरूको विकास र कार्यान्वयनको नेतृत्व गर्नेछिन् ।
नियुक्तिपछि प्रतिक्रिया दिँदै महानिर्देशक श्रेष्ठले भनिन्, ‘दक्षिण एसिया विभागको महानिर्देशकको जिम्मेवारी पाउनु मेरो लागि सम्मानको विषय हो । समावेशी र दिगो विकासलाई थप मजबुत बनाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्न पाउँदा उत्साहित छु ।’
श्रेष्ठ विकास क्षेत्रकी अनुभवी नेतृत्वकर्ता हुन् । उनीसँग २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ, जसमध्ये २३ वर्ष एडीबीमै बिताएकी छन् । यसअघि उनी दक्षिण एसिया विभागको उपमहानिर्देशकका रूपमा कार्यरत थिइन् । त्यसअघि उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभागको उपमहानिर्देशक, सहायक सचिव, दक्षिणपूर्वी एसियाको वित्तीय क्षेत्र तथा व्यापार विभागकी निर्देशक, तथा इन्डोनेसियाका लागि उपदेश निर्देशकको जिम्मेवारी सम्हालेकी थिइन् ।
एडीबीमा आफ्नो प्रारम्भिक करियरका क्रममा उनले केन्द्रीय तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा सञ्चालन हुने विभिन्न विकास कार्यक्रमहरूमा व्यापक अनुभव हासिल गरेकी छन् । श्रेष्ठले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि तथा स्नातकोत्तर उपाधि हासिल गरेकी छन् । उनले म्यासाचुसेट्सस्थित स्मिथ कलेजबाट अर्थशास्त्रमै स्नातक अध्ययन पूरा गरेकी हुन् ।
सन् १९६६ मा स्थापना भएको एडीबी एशिया-प्रशान्त क्षेत्रमा समावेशी, दिगो र लचिलो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने अग्रणी बहुपक्षीय विकास बैंक हो । एडीबीका ६९ सदस्य राष्ट्र छन्, जसमा ५० वटा क्षेत्रीय सदस्य रहेका छन् । बैंकले नवीन वित्तीय उपकरण र रणनीतिक साझेदारीमार्फत गुणस्तरीय पूर्वाधार विकास, जीवनस्तर सुधार तथा वातावरण संरक्षणमा सहयोग गर्दै आएको छ ।