रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमानलाई उपसभापति

Yangle News
Yangle News
२०८२ पुस १४ गते
रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमानलाई उपसभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच सोमबार एकतासम्बन्धी ७ बुँदे सहमति भएको छ । परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित दुवै दल एकतामा सहमत भएका हुन् ।

सहमतिपत्रमा पछिल्ला राजनीतिक घटनाक्रम, विशेषगरी भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसहित विभिन्न जनआन्दोलनका शहीद तथा घाइतेको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले उठाएको आवाजको मर्म आत्मसात् गर्ने उल्लेख छ । घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

सहमति अनुसार उज्यालो र आत्मनिर्भर अर्थतन्त्रमा आधारित राजनीति, योग्यताप्रणाली (मेरिटोक्रेसी)को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल आधार बनाइनेछ । गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक-सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने सहमति भएको छ ।

एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । पार्टीको झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङ्गको घण्टीको आकृति रहनेछ भने चुनाव चिन्ह पनि घण्टी नै हुनेछ । केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति गरिएको छ ।

सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् । उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको छ । यससँगै कुलमान घिसिङ औपचारिक रूपमा रास्वपाको नेतृत्व तहमा समेटिनेछन् ।

उज्यालो नेपालको अभियानलाई अपनत्व दिँदै रास्वपाका कार्यक्रमसँग जोड्ने र एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाइने सहमति भएको छ । उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर पार्टीमा समुचित जिम्मेवारीसहित समायोजन गरिने उल्लेख छ ।

यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ । साथै, पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने सहमति पनि भएको छ ।

सहमतिपत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह साक्षीका रूपमा रहेका छन् । केही दिनअघि बालेन पनि रास्वपामा समाहित भएका थिए ।

सहमतिपत्र :

Yangle News