आगामी बिहीवार फागुन २१ गते हुने प्रतिधिसिभा सदस्य चुनावअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आज राति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ ।
मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत चुनावलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । मौन अवधिमा मत माग्न, पोस्ट गर्न, चुनावलाई प्रभाव पार्ने गरी हिँडडुल लगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।
मौन अवधिमा चुनावलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
चुनावलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढंगले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयसहित वातावरणमा चुनाव गर्न मौन अवधि महत्त्वपूर्ण रहन्छ ।
चुनाव प्रचारप्रसारका क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाव र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेश’ भएर जानसक्ने अवस्था सिर्जना गर्न मौन अवधिको परिकल्पना गरिएको हो ।
आ-आफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ । मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण हुनेछ । मौन अवधिले चुनाव गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा चुनावको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ । यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ । विश्वका कतिपय देशमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने चलन छ ।
भयरहित वातावरणमा प्रभावकारी ढंगले चुनाव सम्पन्न गर्ने र मतदातालाई सु-सूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइने पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् ।
उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।
यस अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र चुनाव प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
बिहीवार हुने चुनावका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ अन्य गरी ३ हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि चुनाव हुनेछ ।
यस पटकको चुनावमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । यस्तै १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएका आयोगले जनाएको छ । चुनावका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ । १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएको छ । चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।
चुनावमा २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल ४ करोड २२ लाख ५१ हजार २ सय मतपत्र छपाइ गरेको छ । यस पटकको चुनावमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।