बन्द भयो नेटफ्लिक्स्को पासवर्ड सेयरिङ सुविधा

Yangle News
Yangle News
२०८० जेष्ठ १६ गते
बन्द भयो नेटफ्लिक्स्को पासवर्ड सेयरिङ सुविधा

 

विश्व फिल्मको स्ट्रिमिङ जायन्ट प्लेटफर्म नेटफ्लिक्स्ले अन्ततः नेटफ्लिक्स्ले पासवर्ड सेयरिङ सुविधा बन्द गरेको छ । लामो समयदेखिको चर्चामा रहेको सो नियमलाई उसले अमेरिका र बेलायतबाट कार्यान्वयनमा ल्याएको हो ।

अब ती मुलुकमा परिवारबाहेकका व्यक्तिसँग पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क तिर्नुपर्नेछ । अब अन्य मुलुकमा पनि यो नियम कार्यान्वयन हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

नेटफ्लिक्स्ले मंगलबार अमेरिका र बेलायतका प्रयोगकर्तालाई इमेल गर्दै पासवर्ड सेयरिङ सुविधा बन्द भएको जनाएको छ । घरबाहिर पासवर्ड सेयर गर्नुपरे बेलायतमा मासिक अतिरिक्त ४.९९ डलर र अमेरिकामा ७.९९ डलर तिर्नुबारे सूचित गरेको नेटफ्लिक्स्ले जनाएको छ ।

यो कदम ग्राहक वृद्धि गर्ने नेटफ्लिक्स्को योजनाको रुपमा हेरिएको छ ।

जुन घरको टीभी \ मोबाइलमा नेटफ्लिक्स् हेरिन्छ अर्थात् जुन आईपी एड्रेसबाट टीभी चलेको हुन्छ, त्यसलाई कम्पनीले ‘परिवार’को रूपमा व्याख्या गरेको छ । डिभाइस र आईपी ठेगाना परिवर्तन भए नेटफ्लिक्स एपमार्फत हाउसहोल्ड रिसेट गर्न सकिन्छ ।

रिसेटको प्रक्रिया पूरा गरेपछि नेटफ्लिक्स्ले प्रयोगकर्ताको इमेल वा फोन नम्बरमा भेरिफिकेसन लिंक पठाउँछ  । उक्त लिंक खोलेपछि हाउसहोल्ड रिसेट गर्न मिल्छ ।

यस प्रक्रियामा कम्पनीले कुनै पनि प्रयोगकर्ता वा उनीहरूका डिभाइसको जीपीएस डेटा संकलन नगर्ने स्पष्ट पारेको छ ।

मंगलबार नेटफ्लिक्स्ले अस्ट्रेलिया, ब्राजिल, फ्रान्स, जर्मनी, मेक्सिको र सिंगापुरलगायत १०३ देशका ग्राहकलाई खाता साझेदारी गर्नेबारे इमेल पठाएको छ ।

नेटफ्लिक्स्ले पहिले अनुमान गरेअनुसार १०० मिलियन भन्दा बढी घरपरिवारले पासवर्ड साझेदारी गर्छन् र यो कम्पनीको नियमविरुद्ध छ ।

ग्राहकको वृद्धिदर सुस्त भइरहेको बेलामा कम्पनीले बढी पैसा कमाउन खोजेको मात्र छैन, स्ट्रिमिङ बजारमा प्रभुत्व कायम राखिरहन चाहन्छ । यसका विश्वभर २ सय ३३ मिलियन सदस्य छन् ।

 

 

293 views