लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले आइतबार निवेदन आह्वान गरेको हो ।
सार्वजनिक, निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा ९५० बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि निवेदन आह्वान गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पदका लागि नेपाली नागरिक, मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
त्यस्तै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक-निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्यौगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ । त्यस्तै निवेदन दिने अन्तिम मितिसम्ममा पैंतीस वर्ष उमेर पूरा भएको र पैसठ्ठी वर्ष ननाघेको हुनुपर्ने छ । सूचना प्रकाशन भएको मितिले पन्ध्र दिन (अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट) कार्यालय समयभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।